बिरगंज, पर्सा । बिरगंज महानगरपालिका अन्तर्गत मुख्य सडकलाई २५–२५ मिटर चौडाइमा विस्तार गर्ने निर्णयको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्। सोही निर्णयको विरोधस्वरूप उनीहरूले आज बिहीबार बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि बिरगंज बन्दको आह्वान गरेका छन्।
बन्दका क्रममा आक्रोशित व्यापारीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले अचानक गरिएको निर्णयले व्यापार, जीविकोपार्जन र स्थानीय संरचनामा प्रत्यक्ष असर पर्ने जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
बन्दका कारण आज बिहानदेखि नै नगरको जनजीवन प्रभावित भएको छ। अधिकांश पसलहरू बन्द छन् भने सवारीसाधनको आवागमन पनि निकै न्यून देखिएको छ। आन्दोलनकारीहरूले सरकार र स्थानीय प्रशासनलाई जनताको आवाज सुन्न आग्रह गर्दै शान्तिपूर्ण तर प्रभावकारी आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।
व्यापारीहरूका अनुसार, सहमतिको आधारमा पूर्वतयारीसहित सडक विस्तार कार्य हुनु पर्नेमा बिना सूचना र वैकल्पिक व्यवस्था निर्णय लिइनु अन्यायपूर्ण भएको बताइएको छ। यस विषयमा स्थानीय प्रशासन र नगरपालिकाको पक्षबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।