बिरगंज । साउथ जोन सेकेन्ड्री स्कूल, बिरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरूले शैक्षिक भ्रमण तथा अवलोकनको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित ऐतिहासिक बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरको अवलोकन गरेका छन्। धार्मिक र सांस्कृतिक महत्व बोकेको यस स्थलको भ्रमण गर्दै विद्यार्थीहरूले समाजप्रति उत्तरदायित्वबोधसहित सहयोग गर्ने प्रशंसनीय कार्य गरेका छन्।
बढ्दो गर्मी र मन्दिरमा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थी टोलीको सक्रिय पहलमा मन्दिर परिसरमा पाँच थान सिलिङ पंखा जडान गरिएको हो। विद्यालयका क्लास टिचर अर्जुन चौधरी तथा विद्यार्थीहरूद्वारा मन्दिर संरक्षण समिति सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई ती पंखा एक सानो कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा जिराभवानी गाउँपालिका–१ का वडाध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू लगायतका स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
सामाजिक दायित्वप्रति सजगता देखाउँदै विद्यार्थीहरूले गरेको यस योगदानलाई सहभागीहरूले धार्मिक स्थल संरक्षणमा युवाहरूको संलग्नताको सकारात्मक उदाहरणका रूपमा लिएका छन्।
विद्यालयले शिक्षासँगै सामाजिक चेतना र नैतिकताको विकासमा ध्यान दिँदै आएको स्पष्ट देखिन्छ। विद्यालय प्रशासन, शिक्षक तथा विद्यार्थीहरूको यस योगदानले शैक्षिक संस्था समाज परिवर्तनको मूल आधार बन्न सक्ने कुराको पुष्टि गरेको छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रप्रतिको संवेदनशीलता र जिम्मेवारी बोध गर्दै गरिएको यो पहल सराहनीय छ।