वीरगञ्ज । मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व मोहरमको अवसरमा वीरगञ्जमा आयोजना हुने कार्यक्रमको स्थान परिवर्तन गरिएको छ।
मध्य वीरगञ्ज क्षेत्रस्थित पुरानो बसपार्कमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि वाना भाज्ने कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको भए तापनि सो स्थानलाई सुरक्षा संवेदनशीलताको दृष्टिकोणले जोखिमयुक्त मानिँदै आएको छ।
यसै सन्दर्भमा मिति २०८२ साल असार २० गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही स्थानको सट्टा तुलनात्मक रूपमा सुरक्षित रहेको वीरगञ्जको आदर्शनगर रंगशालामा कार्यक्रम गर्न स्वीकृति प्रदान गर्न सुझाव दिएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मोहरम पर्वमा आयोजना हुने कार्यक्रम आदर्शनगर रंगशालामा आयोजना गर्न स्वीकृति प्रदान गर्न वीरगञ्ज महानगरपालिकालाई औपचारिक रूपमा अनुरोध गरिएको छ।
सम्बन्धित पक्षहरूलाई पर्वको धार्मिक भावना, सहभागिता र सुरक्षालाई ध्यानमा राखी कार्यक्रमको सफल र शान्तिपूर्ण सम्पन्नताका लागि आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरिएको छ।
