वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २ अन्तर्गत रहेको श्री ताराचन्द किसनलाल माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ।
झोला वितरण कार्यक्रम वीरगञ्ज महानगरपालिका–२ का वडाध्यक्ष महमद रेयाज मियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। वडाध्यक्ष मियाले विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तर अध्ययनमा अब्बल विद्यार्थीहरूलाई झोला, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको हो।
उहाँले विगतदेखि नै विद्यालयलाई आवश्यक पर्ने खेलकुद सामग्री तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराउँदै आउनुभएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। “म आफैँ पनि यही विद्यालयका पूर्व विद्यार्थी हुँ, त्यसैले यो विद्यालयप्रति मेरो विशेष माया छ,” वडाध्यक्ष मियाले भन्नुभयो, “मसँग हुने सहयोगमा कुनै कसर बाँकी राख्नेछैन।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वडाध्यक्ष मियालाई परम्परागत गम्छा ओढाई स्वागत गरेका थिए।
सो कार्यक्रममा वडासदस्य बसिर मिया हजाम, अपिर महमद अंसारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, सामुदायिक प्रहरीका प्रतिनिधि, स्थानीयवासी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपेको र स्थानीय स्तरमा शिक्षा क्षेत्रमा भइरहेको सकारात्मक योगदानको उदाहरण पेश गरेको विद्यालय प्रशासनले जनाएको छ।