पकाहाँमैनपुर, पर्सा । सिलाई कटाई तालिमको नाममा पकाहाँमैनपुर गाउँपालिकामा योजनावद्ध ढंगले भ्रष्टाचार गरिएको पुष्टि हुँदै गएको छ। प्रदेश सरकारको योजना अन्तर्गत वडा नं १ मा करिब ६ लाख रुपैयाँ खर्चमा सञ्चालन गरिएको भनिएको ४५ दिने तालिम २८ दिनमै हतार–हतार समापन गरिएको आरोप सहभागीहरूले लगाएका छन्।
स्रोतका अनुसार, जेठ २६ गतेबाट सुरु भएको तालिम ४५ दिन नपुग्दै असार महिनामै अन्त्य गरिएको घोषणा गरिएको छ। तालिमको नाममा कागजी प्रक्रिया पूरा गर्न एकै दिन दुई पटक हाजिरी गराइएको प्रमाण समेत फेला परेको छ।
यस योजनामा गाउँपालिका अध्यक्ष सुरेश मेहता, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह तथा ‘सातोमाई कन्ट्रक्सन प्रा.लि.’ सखुवा प्रसौनीबीच पूर्वनिर्धारित मिलेमतो रहेको उजागर भएको छ। सहभागीहरूलाई आवश्यक प्रशिक्षण नदिई केवल कागजमै काम सम्पन्न देखाई बजेट उठाउने योजना बनाइएको छ।
त्यस्तै, वडा नं ५ को लक्ष्मीपुर टोलमा सञ्चालन गरिएको भनिएको १५ दिने झोला बनाउने तालिम समेत ९ दिनमै समापन गरिएको छ। असार ११ गते सुरु भएको तालिमको सम्झौताअनुसार असार २५ गतेसम्म चल्नु पर्ने भए तापनि उक्त तालिम समय अगावै सकिएको देखाइएको छ। यसमा पनि सोही कन्ट्रक्सन कम्पनीको संलग्नता रहेको छ।
वडास्तरीय जनप्रतिनिधिहरूले समेत तालिमबारे अनभिज्ञता जनाएका छन्। वडा नं १ का अध्यक्ष विनोद मेहताले, “मेरै वडामा तालिम भयो, मलाई ४–५ दिनपछि मात्रै थाहा भयो,” भन्दै गुनासो गरे। वडा नं ५ का अध्यक्ष बलिराम चौरसियाले तालिम १० दिनको भनिएकोमा १५ दिनको तालिम देखिएपछि आफू दङ्ग परेको प्रतिक्रिया दिए।
यता, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले सम्झौता अनुसार कार्य नगरेमा भुक्तानी नहुने बताएका छन्। तर, उपलब्ध प्रमाणहरूले भने कार्यान्वयन तहमा मिलेमतो र लापरवाही स्पष्ट देखिएको छ।
सस्तो लोकप्रियता र विकासको नाममा असार मसान्तमा बजेट सक्ने प्रवृत्तिले पकाहाँमैनपुर गाउँपालिका गम्भीर भ्रष्टाचारको दलदलमा फसेको देखिन्छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार तालिमको नाममा गरिब, महिलाहरू तथा बेरोजगारहरूको नाम बेचेर बजेट लुटिएको छ।
यदि सम्बन्धित निकायहरूले तत्काल सत्यतथ्य छानबिन नगरी दोषीमाथि कारबाही नगरेमा गाउँपालिकाको विकास होइन, विनाश सुनिश्चित हुनेछ भन्नेमा स्थानीय बासिन्दा एकमत देखिन्छन्। यस प्रकारको नीतिगत तथा प्रशासनिक भ्रष्टाचारप्रति चुप लाग्नु भनेको मौन समर्थन गर्नु सरह हुनेछ।