पकाहाँमैनपुर, पर्सा । सिलाई कटाई तालिमको नाममा भएको योजनावद्ध अनियमितता उजागर भएपछि पकाहाँमैनपुर गाउँपालिकाले सम्बन्धित तालिम सम्झौता खारेज गरेको छ। ज्योती दैनिकमा प्रकाशित समाचारपछि विषयले नयाँ मोड लिएको हो।
तालिम तोकिएको समयभन्दा अगावै सकिएको, सहभागीहरूको हाजिरी कागजमै पूरा गरिएको जस्ता गम्भीर त्रुटिहरू सार्वजनिक भएपछि पालिकाले घटनाको अध्ययन गरी आवश्यक निर्णय लिएको हो।
पालिका योजना प्रमुख सुधांशु शेखर सराफले तालिम कार्यान्वयनमा गम्भीर लापरवाही भएको स्वीकार गर्दै भने, “सम्झौता अनुसार तालिम समयमै सम्पन्न नभएकाले पालिकाले उक्त सम्झौता खारेज गर्ने निर्णय लिएको हो। बजेटको दुरुपयोग सह्य छैन।”
उनका अनुसार सार्वजनिक स्रोत र करदाताको पैसाको दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध पालिका कडाभन्दा कडा कदम चाल्न तयार छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन निगरानी र अनुगमन प्रक्रिया थप कडा बनाइने पनि उनले जानकारी दिए।
यस घटनाले सार्वजनिक योजना कार्यान्वयनमा देखिएको लापरवाही र जिम्मेवार निकायको कमजोरीलाई पुनः उजागर गरेको छ । स्थानीय बासिन्दा, सरोकारवाला र युवाहरूले दोषी व्यक्तिमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन्।
उनीहरूले भनेका छन्, “यसरी तालिमको नाममा बेरोजगार, महिला र सीपविहीन समुदायलाई लक्षित बजेट नाजायज ढंगले हिनामिना गर्नु आपराधिक कार्य हो। यस्तो प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ।”
यदि यस्ता अनियमितता समयमै नियन्त्रण गरिएनन् भने पकाहाँमैनपुर गाउँपालिकाको समग्र विकास प्रक्रिया नै अवरुद्ध हुने निश्चित देखिन्छ। यसकारण, सम्बन्धित सबै निकायले संवेदनशील भएर काम गर्नु आवश्यक भएको स्थानीयको भनाइ छ ।