वीरगञ्ज, असार २२ । पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमुद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आईतबार वीरगञ्जमा सञ्चालित एक तालिमका क्रममा कार्यक्रमस्थलमा पुगेका पत्रकारहरूमाथि ठाकुरले अशोभनीय व्यवहार गरेका थिए। उक्त घटनापछि पत्रकारहरूको गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।
घटनापछि प्रेस चौतारी नेपाल, पर्सा शाखाले घटनाको कडा निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो। पत्रकारमाथिको दुर्व्यवहार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको चौतारीको भनाइ छ।
यसैबीच, ठाकुरको व्यवहारप्रति विभिन्न सञ्चार माध्यम, पत्रकार महासंघलगायत संस्थाहरूले समेत विरोध जनाएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस विषयमा पत्रकार महासघं पर्साका प्रवक्ता एवम् सचिव विजय चौहानले प्रहरीले आफ्नो कार्यक्रममा राखी अनुसंधान गरिरहेको पुष्टि गरे ।