जनकपुरधाम, असार २४ गते । मधेश प्रदेश सभाको बैठक लगातार दुई दिनदेखि अवरुद्ध भएको छ । आइतबार र सोमबार दुवै दिनको बैठक कार्यसूची प्रारम्भ नहुँदै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षी सांसदहरूले संयुक्त रूपमा अवरोध गरेपछि स्थगित गरिएको हो ।
सोमबार मधेश प्रदेश सभाको पाँचौँ अधिवेशनको १४ औँ बैठकको दैनिक कार्यसूची अनुसार मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गरिएको थियो । छलफलमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री सुनीलकुमार यादवले दिनुहुने कार्यसूची जारी गरिएको थियो । त्यसपछि व्यवस्थापन कार्य अन्तर्गत विनियोजन विधेयक, २०८२ सभामा प्रस्तुत गरिने कार्यसूची रहेको थियो । यसअघिका दुई दिनको बैठकको कार्यसूची पनि यही नै थियो ।
प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आगामी आवको बजेटको पुस्तिका ‘रातो किताब’ सभासद्हरूलाई असार ११ गते उपलब्ध गराइएको थियो । सो दिनको बैठकमा बजेटमाथि दुई जना प्रदेश सांसदलाई छलफलमा सहभागी गराएर बैठक १२ गते बस्ने गरी स्थगित गरिएको थियो । १२ गते आह्वान गरिएको बैठक भने बिनाछलफल सभामुख रामचन्द्र मण्डलले सूचना टाँसी अनिश्चित कालका लागि स्थगन गर्नुभएको थियो । त्यसपछि २२ गते आइतबार बैठक बोलाउनुभएको थियो ।
सोमबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद सुनिता यादव, जनता समाजवादी पार्टी नेपालका सांसद सुरिताकुमारी साहलगाय प्रतिपक्षी सांसदहरूले बजेट निर्माणमा बिचौलियाको संलग्नता रहेको आरोप लगाउँदै पुनर्लेखन नगरेसम्म सदन नचल्ने अडान लिनुभएपछि मङ्गलबार १ बजे बस्ने गरी बैठक पुनः स्थगित गरिएको सभामुख मण्डलले जानकारी दिनुभयो ।
आइतबार बोलाइएको बैठक सुरु नहुँदै प्रतिपक्षी सांसदको अवरोधपछि आधा घण्टाका लागि स्थगन गरिएको थियो तर पुनः सूचना टाँस गर्दै बैठक सोमबार १ बजेसम्मका लागि स्थगन गरिएको थियो । बैठक अवरोध गर्दै सांसदहरूले पाँच लाख रुपियाँसम्मका योजना हटाएर बजेट पुनर्लेखन गरेर मात्र सदन सञ्चालन गर्न दिने बताउँदै आएका छन् । बजेट निर्माणमा बिचौलियाको प्रभाव रहेको भन्दै विरोधमा उत्रिएका सांसदहरूले योजना छनोटमा पारदर्शिता नभएको आरोपसमेत लगाएका छन् ।
सोमबारको बैठकमा मुख्यमन्त्री सतीशकुमार सिंह, अर्थमन्त्री सुनीप्लकुमार यादव पनि उपस्थित हुनुहुन्थ्यो । सत्तारूढ दल जनमत पार्टीकै अध्यक्ष तथा सांसद डा. सिके राउतले पहिलो दिनमै बजेटमा बिचौलिया हाबी रहेको आरोप लगाउनुभएको थियो । राउतको सो कुरालाई विपक्षी सांसदहरूले बजेटमा बिचौलिया हाबी रहेको सत्तापक्षले नै पुष्टि गरेको आधार बनाउनुभएको छ । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले भन्नुभयो, “मुख्यमन्त्रीले आफैँ बजेट ल्याउँदा ह्याक भएको बताउनुभएकाले अहिले उहाँकै पार्टीको नेतृत्वमा बिचौलिया हाबी भएको छ । जबसम्म समान बजेट हुँदैन, तबसम्म बजेट पारित हुन दिँदैनौँ ।”
बैठकमा जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध जनाइरहनुभएको छ ।