वीरगञ्ज, पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ४ (साविक बिरुवागुठी गाविस वडा नम्बर २) मा रहेको श्री काशी श्यामराज राजेश्वर गुठीको नाममा देखिएको गुठी जग्गा व्यक्तिको नाममा लालपुर्जा देखिएको खुलासा भएको छ।
गुठी संस्थान शाखा कार्यालय वीरगञ्ज पर्साका अनुसार साविक किता नम्बर ६२ को ५–८–० क्षेत्रफलको गुठी जग्गा मिति २०४७ साल माघ २८ गते श्री काशी श्यामराज राजेश्वर गुठीको नाममा देखिएको हो। तर हाल मालपोत रसिद काट्ने क्रममा सोही कित्ता नम्बरको जग्गा पर्सागढी नगरपालिका वडा नं. ४ का शेख मन्जारुल मियाको नाममा लालपुर्जा फेला परेको गुठी संस्थानले जनाएको छ।
जग्गा कसरी व्यक्तिको नाममा पुग्यो भन्नेबारे कुनै स्पष्ट प्रक्रिया नदेखिएको भन्दै गुठी संस्थान पर्साले यसबारेमा मिति २०८२ असार १६ गते जिल्ला प्रशासन कार्यालय, पर्सालाई कारबाहीका लागि पत्राचार गरेको हो।
गुठी संस्थानका कार्यालय प्रमुख चुडामणि घिमिरेद्वारा पठाइएको पत्रमा उल्लेख भएअनुसार गुठी तैनाथी जग्गा कुनै व्यक्ति विशेषले हत्याउने अधिकार नरहेको र गुठी सम्पत्तिमा भएको यस्तो जालझेल धर्म-संस्कृति र सामाजिक सम्पदामाथिको ठुलो हमला भएको बताइएको छ। साथै दोषी व्यक्तिविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रशासनलाई छानबिन गर्न आग्रह गरिएको छ।
संस्थानले गुठी जग्गा जोगाउन सरोकारवाला निकायको उदासिनता र कमजोर निगरानी व्यवस्थाका कारण यस प्रकारको दोहन भइरहेको जनाउँदै, यस्ता कार्य गम्भीर भ्रष्टाचार र शक्ति दुरुपयोगको संकेत भएको टिप्पणी गरेको छ।