वीरगंज, २५ असार । पछिल्लो केही महिनादेखि वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रमा चापाकल सुकेर खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । यस्तै संकटको घडीमा वीरगंज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदका उम्मेदवार तथा समाजसेवी अजय कुमार गुप्ताले मानवीय पहल गर्दै आफ्नै वडामा पानी वितरण गर्ने कार्य थाल्नुभएको छ ।


समाजसेवी गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई ट्याङ्कीमा भरि वडाभित्रका बासिन्दाहरुलाई निःशुल्क पानी वितरण गर्न थालेका छन् । उहाँले आफैं घरघरमा पुगेर पानी वितरण गर्दै हुनुहुन्छ, ताकि कसैलाई पनि पानीको अभाव नहोस भन्ने भावनाले बितरण गर्न थालेका हुन ।
यस प्रयासमा गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई साथ दिएका छन् । समाजसेवी गुप्ताले चापाकल सुकेर सर्वसाधारणलाई खानेपानीमा ठूलो समस्या परेको हुँदा यस्तो बेला राजनीतिक लाभ होइन, मानवता र सेवाको भावना बोकेर यो कार्य थालेको बताएका हुन । उहाँले पानीको समस्या समाधान नहुन्जेलसम्म यो सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीयवासीहरुले गुप्ताको यो कदमलाई अत्यन्त सकारात्मक र अनुकरणीय भन्दै प्रशंसा गरेका छन् ।
हाल वीरगंजका विभिन्न वडामा पानी वितरणमा पक्षपात देखिएको गुनासो भइरहेका बेला गुप्ताले आम नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नु उल्लेखनीय भएको देखिएको छ ।