पर्सा । पोखरिया नगरपालिकाको नवौं नगरसभाको दोस्रो बैठक अन्तर्गतको बन्द सत्र आज सम्पन्न भएको छ । पोखरिया नगरपालिका सभा हलमा सम्पन्न नगरसभाको बन्द सत्रबाट उपमेयर रुबी ठाकुरले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४४८ रुपैयाँ ५८ पैसाको बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा सबै वडाका जनताको आवश्यकता समेटिएको भन्दै सर्वसम्मत रूपमा पारित गरिएको हो ।
नगरपालिकाले ल्याएको बजेट तथा नीति कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासमा केन्द्रीत रहेको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले जानकारी दिए ।
नगरसभा अध्यक्षसमेत रहेका मेयर प्रदुमन प्रसाद चौहानले नगरपालिकाले ल्याएको बजेट जनमुखी, समावेशी र व्यावहारिक भएको बताउँदै विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, “यो बजेट हाम्रो पोखरियाको सम्भावना र आवश्यकतालाई समेट्ने गरी बनाइएको छ । नगरबासीको हितमा केन्द्रित भएर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र युवालाई रोजगारी दिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । अबको लक्ष्य भनेको बजेटको प्रभावकारी कार्यान्वयन हो ।”
नगरसभामा उपमेयर रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंह, वडा अध्यक्षहरू प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, प्रमानन्द पटेल, नौसाद आलम, सोनालाल साह, किशोरी साह, कार्यपालिका सदस्यहरू, वडासदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
नगरपालिकाले समावेशी विकासको लक्ष्यका साथ जनताको आधारभूत सेवा तथा पूर्वाधारमा लगानी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।