काठमाडौँ । सिम्रौनगढ नगरपालिका, बाराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सब-इन्जिनियर उपेन्द्र कुशवाहाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले दिएको फैसला आयोगलाई असन्तोषजनक लागेपछि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो ।
अख्तियारका अनुसार उनीहरूले सिम्रौनगढ नगरपालिका वडा नं. २ स्थित रानीवास सङ्ग्रहालय भवन निर्माण कार्यमा इष्टिमेट बमोजिमको काम नगरी कामको परिमाण कृत्रिम रूपमा बढाई झुट्टा बिल बनाएका थिए । साथै, गलत प्रतिवेदन तयार गरी वास्तविकभन्दा बढी रकम भुक्तानी लिई सरकारी कोषमा हानी पुर्याएको आयोगको दाबी छ ।
आयोगले यसै आरोपमा विशेष अदालतमा मुद्दा दायर गरे पनि अदालतको फैसलासँग असहमति जनाउँदै सर्वोच्चमा पुनरावेदन गरिएको जनाएको छ ।