पर्सा । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका–२ स्थित मधुबनी पोखरीको स्तर उन्नति तथा छठघाट निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको विषय सार्वजनिक भएसँगै व्यापक जनआक्रोश उत्पन्न भएको छ। ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको यो धार्मिक तथा सांस्कृतिक महत्वको योजना भ्रष्टाचार र लापरवाहीको चपेटामा परेको प्रमाणहरू एकपछि अर्को गरी सतहमा आउन थालेका छन्।
स्थानीयवासीका अनुसार छठघाट निर्माणमा प्रयोग गरिएको इँटा एक नम्बरी हुनु पर्नेमा दोश्रो, तेश्रो र टुक्रे इँटा प्रयोग गरिएको छ। निर्माणस्थलमा बालुवा र गिट्टी समेत अत्यन्तै खराबस्तरको देखिएको छ। निर्माणमा संलग्न मिस्त्रीहरूले उपभोक्ता समिति अध्यक्ष श्रीनिवास चौहानकै आदेशमा त्यस्ता इँटा प्रयोग गरिएको बताएका छन्। सिमेन्टसमेत मापदण्डभन्दा कम मात्रामा प्रयोग भएको, इँटा नभिजाइ सिधै जोडेको, र इन्जिनियरको अनुगमन कहिल्यै नभएको स्थानीयले आरोप लगाएका छन्।
अझ चौंकाउने कुरा त के छ भने, निर्माण कार्यमा लापरवाही र नियमविपरीत काम हुँदा पनि अध्यक्ष चौहान स्वयम्ले प्रेस सम्मेलन गरी आफैंमाथि राजनीतिक र आर्थिक दबाब परेको जिकिर गरेका छन्। उनले पकाहामैनपुरका अशोक साह तेली र उनका छोरा गणेश साह तेलीमाथि तीन लाख रुपैयाँ घुस मागेको आरोप लगाउँदै आफू ‘मानसिक पीडा’मा परेको बताए। तर भुक्तानी नै बाँकी रहेको, साइटमा सूचना बोर्ड नराखिएको, र गुणस्तरहीन निर्माणको दोष स्वयम् समितिमाथि लागिरहेका बेला यस्तो दावी ढाकछोपको प्रयासको रूपमा हेरिएको छ।
स्थानीय समाजसेवी राहुल पटेलका अनुसार, “निर्माणको हरेक चरणमा अध्यक्ष चौहानको निगरानी थियो, तर उनले खराब सामग्री प्रयोग गर्न दिँदा विरोध गर्दा पनि वास्ता गरेनन्। अब भने दोष अरूमाथि थोपर्न खोज्नु हास्यास्पद मात्र होइन, निन्दनीय पनि हो।”
योजना निर्माण कार्य २०८२ साल जेठ १६ गते सम्पन्न भइसकेको भए पनि अहिलेसम्मको अवस्था हेर्दा यो घाटको दीर्घकालीन उपयोगमा गम्भीर प्रश्न उठेको छ। धार्मिक स्थलमा यस्ता लापरवाही र आर्थिक चलखेल हुनुले सम्पूर्ण समुदायलाई अपमानित तुल्याएको छ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकेको र दोषी उपभोक्ता समिति अध्यक्षसहित संलग्न सबैमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्।