वीरगञ्ज, असार ३० । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज तथा आसपासका क्षेत्रमा प्रत्येक वर्ष दोहोरिरहने खानेपानी समस्याको स्थायी समाधानका लागि संघीय सरकारका दुईजना मन्त्री यही असार ३० गते वीरगञ्ज आउँदैछन् ।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीपप्रसाद यादव पर्सा जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएको मन्त्रीद्वयको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार हरेक वर्ष विशेषगरी जेठदेखि साउनसम्म पर्सा लगायत तराईका विभिन्न क्षेत्रमा चापाकलहरू सुक्ने समस्या देखा पर्ने गरेको छ। वर्षा सुरू भएपछि केही समयका लागि चापाकलमा पुनः पानी आउन थाले पनि उक्त दुई–तीन महिनाको अवधिमा सर्वसाधारणलाई अत्यधिक समस्याको सामना गर्नु पर्ने अवस्था छ।
यस समस्याको समाधान एक दुई ट्याङ्कर पानी वितरण गरेर सम्भव नहुने उल्लेख गर्दै मन्त्रीद्वयको सचिवालयले स्थानीय बासिन्दा, जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालासँगको सहकार्यमा दीर्घकालीन समाधानको खाका तयार पारिने जानकारी दिएको छ।
सचिवालयका अनुसार दीर्घकालीन योजना अन्तर्गत आवश्यक अध्ययन, अनुसन्धान र प्रविधिमैत्री योजना तयार पारेर मात्र समस्या समाधान सम्भव हुने भएकाले त्यसैअनुसार पहल गरिनेछ। मन्त्रीद्वयको आगमनले पर्सा जिल्लामा लामो समयदेखि रहँदै आएको खानेपानी समस्याको स्थायी समाधानतर्फ ठोस कदम चालिने अपेक्षा गरिएको छ।