काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले हालैका दिनहरूमा सार्वजनिक सेवा तथा प्रशासनिक व्यवस्थापनमा देखाएको सक्रियता र पारदर्शी नेतृत्वले सर्वसाधारण तथा कर्मचारीवृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
मन्त्री गुप्ता पदभार सम्हालेलगत्तै संघीय, प्रादेशिक तथा स्थानीय तहबीचको समन्वय मजबुत बनाउने, कर्मचारी समायोजनमा देखिएको जटिलता समाधान गर्ने तथा जनमैत्री प्रशासन स्थापना गर्ने दिशामा उल्लेखनीय कार्य अघि बढाएका छन्।
उनको नेतृत्वमा मन्त्रालयले डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई सहज र छिटो बनाउने अभियान सञ्चालन गरिरहेको छ। स्थानीय तहमा जनशक्ति अभावको समस्या समाधान गर्न उनले तिव्र रूपमा दरबन्दी समायोजन प्रक्रिया अघि बढाएका छन्। साथै, लामो समयदेखि अल्झिएको कर्मचारी पदस्थापन तथा सरुवा प्रणालीलाई विद्युतीयरूपमा पारदर्शी बनाउने कार्यप्रति गुप्ताले प्राथमिकता दिएका छन्।
सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन उनका कदमहरू व्यापक रूपमा सराहना पाइरहेका छन्। नागरिकबाट थालिएको "सेवा प्रवाह समयमै होस्" भन्ने अपेक्षालाई उनले कार्यान्वयनतर्फ डोर्याउन थालेकोमा विभिन्न तहका जनप्रतिनिधिहरू तथा कर्मचारी पनि सन्तुष्ट देखिएका छन्।
राजनीतिक पहुँचका कारण होइन, कार्यक्षमताका आधारमा निर्णय लिने शैलीका कारण मन्त्री गुप्तालाई कार्यकुशल र इमानदार व्यक्तित्वका रूपमा लिइन्छ। प्रशासनिक क्षेत्रमा भएको परिवर्तनको सकारात्मक प्रभावले उनको नेतृत्व क्षमता थप उजागर भएको छ।