वीरगञ्ज । नेकपा एमाले मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको बारेमा आएका समाचारहरू भ्रामक र तथ्यहीन रहेको भन्दै नेकपाका शीर्ष नेताहरूले खण्डन गरेका छन् ।
हालै बर्दिवासमा सम्पन्न नेकपा एमाले मधेश प्रदेश कमिटीको चौथो बैठकमा मन्त्री जयसवाललाई फिर्ता बोलाउने विषयमा चर्चा भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरे पनि पार्टीका शीर्ष नेताहरूले यस्ता समाचारहरूलाई अस्वीकार गरेका छन्।
नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डलले ज्योती दैनिकसँग कुरा गर्दै मन्त्री प्रमोद जयसवाललाई हटाउने कुनै निर्णय नभएको स्पष्ट रूपमा बताएका छन्। उनले अहिले एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी कुनै पनि मन्त्री फिर्ता नहुने बताएका छन्।
त्यस्तै, नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले पनि मन्त्री हटाउने विषयमा कुनै निर्णय नभएको जनाउँदै उक्त विषय व्यक्तिगत धारणा मात्रै भएको र पार्टीको आधिकारिक निर्णय नभएको प्रष्ट पारे।
सह-सचिव आरती भण्डारीले पनि उक्त समाचारलाई निराधार र भ्रामक बताउँदै प्रदेश कमिटीलाई जानकारी नै नभएको निर्णय मिडियामा आउनु आश्चर्यजनक भएको प्रतिक्रिया दिइन्।
मन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सरकारमा सहभागी भएपछि समाज कल्याण तथा खेलकुद क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन्। उनले युवाहरूको प्रतिभा उजागर गर्न विभिन्न खेलकुद कार्यक्रम आयोजना गराउनुका साथै समाजसेवा र कल्याणकारी योजनामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको नेतृत्वमा समाज कल्याण मन्त्रालयबाट गरिब, असहाय तथा पिछडिएको वर्गको जीवनस्तर उकास्न विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। मन्त्री जयसवालले आफूलाई लक्षित गरी फैलाइएका हल्लाहरू निराधार रहेको बताउँदै यस्ता अफवाहबाट विचलित नभई जनसेवामा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्टीभित्र एकता, अनुशासन र सहकार्यका पक्षमा रहेर कार्य गरिरहेका मन्त्री जयसवालप्रति एमाले मधेश प्रदेशका नेतृत्व तहका नेताहरूको पूर्ण विश्वास रहेको प्रष्ट देखिएको छ।
उपाध्यक्ष विचारी यादवले मन्त्री हटाउने प्रस्ताव गरे लगतै केही सहभागीहरुले ताली बजाएको उनले बताए ।