पर्सा । पर्सा जिल्लाको अमरपट्टी नाकाबाट भारतीय सीमासँग जोडिएको शिशवा गाउँ हुँदै भइरहेको तस्करीमा स्थानीय प्रहरीकै संलग्नता रहेको गम्भीर आरोप सार्वजनिक भएको छ। अमरपट्टी प्रहरी चौकीका नायब निरीक्षक (सई) सुनिल पनेरुले अवैध तस्करीको संरक्षण गर्दै आएको खुलासा स्थानीय स्रोतहरूले गरेका छन्।
भारतीय सीमावर्ती क्षेत्रमा सक्रिय कुख्यात तस्कर मुन्नाले अमरपट्टी क्षेत्रमा दुईवटा अवैध मदिरा भट्टी सञ्चालन गर्दै आएको र ती भट्टीहरूबाट दैनिक ठूलो परिमाणमा मदिरा उत्पादन गरी भारततर्फ तस्करी भइरहेको जनाइएको छ। स्रोतका अनुसार, सई पनेरुले ती भट्टीहरू सञ्चालन गर्न प्रतिमहिना ३० हजार रुपैयाँ नजराना लिने गरेका छन्।
अझ गम्भीर कुरा त के भने, यस्ता गैरकानुनी गतिविधिहरू राज्य संयन्त्रकै संरक्षणमा निर्बाध रूपमा सञ्चालन भइरहेका छन्, तर स्थानीय प्रशासन भने तमासे बनेको देखिन्छ। तस्कर र प्रहरीबीचको साँठगाँठका कारण अमरपट्टी नाका अहिले तस्करीको खुला मार्ग बनेको स्थानीयहरूको गुनासो छ।
एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा भने, “हामीले बारम्बार तस्करीबारे प्रहरीलाई जानकारी गराउँछौं, तर प्रहरीकै संरक्षणमा तस्करी भइरहेको देख्दा हामी नै निराश छौं। यो खुला अपराध हो, राज्य किन चुप छ?”
यता, आफूमाथि उठेका आरोपप्रति सई सुनिल पनेरुले प्रतिक्रिया दिँदै उक्त आरोपलाई नकारेका छन्। उनले भने, “मुन्ना तस्करलाई भारतीय प्रहरीले पहिले नै पक्राउ गरी जेल पठाइसकेको छ। मेरा बारेमा फैलाइएको कुरा आधारहीन र गलत हो।”
तर, सईको स्पष्टिकरणले स्थानीयहरूलाई चित्त बुझाएको छैन। प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको भन्दै नागरिक समाज र सरोकारवालाहरूले सरकारसँग तत्काल निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।
अब प्रश्न उठेको छ— सीमावर्ती सुरक्षामा खटिएका सुरक्षाकर्मी स्वयंले तस्करीको संरक्षण गर्ने हो भने सीमाको सुरक्षा कसरी सम्भव छ?
यस विषयमा सुरक्षा निकाय र स्थानीय प्रशासनको निष्क्रियता गम्भीर चिन्ताको विषय बनेको छ। राज्यका सुरक्षा संयन्त्रप्रति जनविश्वास घटाउने यस्ता घटनाहरूलाई तत्कालै नियन्त्रण गर्न ढिलो भइसकेको छ।