सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका कर्मचारी तथा जनप्रतिनिधि कार्यालयमै थुनिएका छन्। नगरपालिकाको गाडीले ठक्कर दिए घाइते बनाएका बोदेवरसाइनका पीडितका आफन्तले नगरपालिका कार्यालयमा तालाबन्दी गर्दा उनीहरु कार्यालयभित्रै थुनिएका छन्।
नगरपालिकामा पटकपटक आन्दोलन गर्दा उनीहरुले आश्वासन मात्र पाएपछि सोमबार कार्यालय सुचारु रहेको अवस्थामा बाहिरबाट तालाबन्दी गरेपछि उनीहरु भित्र थुनिएका हुन्।
सप्तरीको बोदेवरसाइन नगरपालिका १ का १६ बर्षिय राजेश कुमार यादवको उपचार खर्च माग गर्दै पीडित परिवार तथा आफन्तहरु नगरपालिकाको मुल गेटमा धर्ना बसेका हुन् ।
घटनाको महिनौं वितिसक्दा समेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले बताए । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उनले दुखेसो सुनाए ।
२०८२ माघ १ गते बोदेबर्साइन नगरपालिका ५ स्थित सडक खण्डमा राजविराज नगरपालिकाको गाडिको ठक्करबाट बोदेबर्साईन नगरपालिका १ का राजेशसंगै अर्का २२ बर्षिय अजित कुमार यादव घाइते भएको रजेशका काका बैधनाथ यादवले बताए ।
अजितको राजविराज स्थित छिन्नमस्त अस्पतालमा उपचार गरि घर फर्किएपनि राजेशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको उनले जानकारी दिए । नब्बे दिन आइस्युमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होस आएको उनले बताए ।
अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि संघर्ष समिति बनाएर क्षतिपूर्तिको लागि नगरपालिकामा पटकपटक आन्दोलन गरिरहेका छन्। तर उनीहरूले पटकपटक यहाँ आश्वासन मात्र पाउने गरेको बताए।