वीरगञ्ज, असार ३१ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनहरूमा आफूविरुद्ध सार्वजनिक भएका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको उनले बताएका छन्।
फेसबुकमार्फत सार्वजनिक गरेकाे सन्देशमा गुप्ताले लेखेका छन्, “कहिले काहीँ नखाएको विषय पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भएको छु।” आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गर्दै उनले छानबिन प्रक्रियामा सहजता होस् भन्ने उद्देश्यले पद त्यागेको जनाएका छन्।
उनले लेखेका छन्, “लागेका आरोपहरूको यथार्थ बाहिर आओस् भन्ने अपेक्षा राख्दै सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु। प्रविधिको दुरुपयोगबाट कोही पनि अन्यायमा नपरोस् भन्ने कामनासहित यो निर्णय लिएको हुँ।”
मन्त्री गुप्ताले अहिलेसम्म विभिन्न रूपमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। साथै, पार्टी र जनताप्रति थप जिम्मेवारी बोध गर्दै भविष्यमा अझै इमानदार रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। “अब फेरि एकपटक देश र जनताको सेवामा समर्पित हुँदै पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठापूर्वक पूरा गर्ने प्रण गर्दछु,” गुप्ताले उल्लेख गरेका छन्।
मन्त्री गुप्ताको यो कदमलाई धेरैले आत्मसम्मान र नैतिक जिम्मेवारीको उदाहरणको रूपमा हेरेका छन्।