जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.स.ना.नि) सागर शम्सेर ज.ब.रा.लाई २०८२ साल असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना संकलन शाखामा कार्यरत ज.ब.रा.ले पछिल्लो समय अपराध अनुसन्धान तथा नियन्त्रणमा देखाएको उल्लेखनीय सक्रियता, व्यावसायिकता र प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीको सिफारिसमा उक्त सम्मान प्रदान गरिएको हो।
उनले हालैका केही गम्भीर घटनाहरूमा निर्णायक भूमिका निर्वाह गरेका छन्। मिति २०८१ फागुन १७ गते धनुषाको लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा हरिराम यादवद्वारा आफ्नी श्रीमती अञ्जली यादवको हत्या गरी शव गाडिएको घटनामा, सूचनाका आधारमा अनुसन्धान टोली परिचालन गरी यादवको घरभित्रको कुलपूजाको स्थान खनेर मृतकको शव फेला पर्न सफल भएका थिए। अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त यादवलाई जनकनन्दिनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गर्न ज.ब.रा.को टोली सफल भएको थियो।
त्यसैगरी, मिति २०८२ असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ का बासुदेव साहलाई पारिवारिक विवादका क्रममा चक्कु प्रहार गरी हत्या गरेका अभियुक्त बेचन महासेठलाई समेत केही दिनपछि जनकनन्दिनी गाउँपालिका–४ खजुरी क्षेत्रबाट पक्राउ गर्नमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
यस्तै, रंजु कुमारी सासको जाहेरीको आधारमा ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा विद्युतीय अपराध मुद्दाका फरार प्रतिवादी हनिफ नदाफलाई मिति २०८२ असार १३ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
यसरी ज.ब.रा.ले आफुले पाएको जिम्मेवारी अत्यन्त व्यावसायिक, निष्ठापूर्वक र दक्षताका साथ निर्वाह गरी प्रहरी संगठनको छविलाई अझ माथि उकास्न उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
उनको सक्रियता र निष्ठाले प्रहरीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्न मद्दत पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई आगामी दिनमा समेत प्रेरणा बनिरहन शुभकामना दिएको छ।