वीरगञ्ज, असार ३१ । मधेश प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयले 'मुख्यमन्त्री सुरक्षित आवास बीमा' तथा 'नागरिक दुर्घटना बीमा कार्यक्रम' आजदेखि औपचारिक रूपमा लागू गरेको छ।
नव लागू कार्यक्रमअनुसार कुनै पनि व्यक्तिको दुर्घटनामा परि मृत्यु भएमा पीडित परिवारलाई सरकारले रु १० लाख प्रदान गर्नेछ। त्यसैगरी, आगलागी, बाढी, हावाहुरी वा अन्य कुनै प्राकृतिक विपद्बाट घर क्षति भएमा पीडित परिवारलाई रु १ लाखदेखि ५ लाख २५ हजारसम्म आर्थिक सहायता उपलब्ध गराइनेछ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका अनुसार, उक्त कार्यक्रम समाजका सबै वर्गका नागरिकलाई विपद्को अवस्थामा न्यूनतम राहत र सहारा दिने उद्देश्यले सुरु गरिएको हो। बीमा कार्यक्रमबाट लाभ लिनका लागि नागरिकहरूले आवश्यक कागजातसहित सम्बन्धित पालिकामा निवेदन दिनुपर्नेछ।
मन्त्रालयले बीमा कार्यक्रम प्रभावकारी बनाउन जिल्लास्तरमा समन्वय समितिहरू गठन गर्ने तयारी पनि अघि बढाएको छ।
सरकारको यो कदमले विपद् पीडित परिवारहरूलाई राहत दिने विश्वास लिइएको छ।