पर्सा । बहुदरमाई नगरपालिका–३, नागरदाहाका दिवंगत रवि प्रसाद तेलीको परिवारप्रति सहानुभूति प्रकट गर्दै छपकैया हिन्दू युवा बजरंग सेना नकाटुवाका युवाहरूले राहत सामग्री सहयोग गरेका छन्।
मृतक दीर्घकालीन रोगहरू चीनी, क्षयरोग (टीबी) र दमाबाट पीडित थिए । तेलीको २०८२ असार २१ गते नारायणी अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो। आर्थिक अभाव र असहाय अवस्थाका कारण शोकाकुल परिवारको पीडामा मल्हम लगाउने उद्देश्यले युवाहरूले सहयोगका हात फैलाएका हुन्।
"सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै युवाहरूले विभिन्न स्थान र साथीहरूमार्फत संकलित सामग्रीहरू आफैँ अटोमा पुर्याएर मृतकका घरमै सहयोग गरेका हुन्," टिमका संयोजक निरंजन सर्राफले जानकारी दिए।
सहयोग स्वरूप प्रदान गरिएका सामग्रीहरूमा ५० किलो आलु, २५ किलो चामल, १३ किलो चिउरा, २६ किलो आटा, २५ किलो प्याज र २५ किलो चिनी समावेश छ।
मानवता र सद्भावको प्रेरक उदाहरण बनेका यस टोलीमा मनोज साह काऊ, पप्पु साह सोनार, पप्पा साह सोनोर, लखन दास, रोहित गिरी र हिम्मत लाल साहको सक्रिय सहभागिता रहेको थियो।
आजको स्वार्थी युगमा पनि सेवा, समर्पण र संवेदनशीलताको ज्वलन्त उदाहरण प्रस्तुत गरेका यी युवाहरूको कार्य सम्पूर्ण समाजका लागि प्रेरणादायी छ। यस्ता सामाजिक सद्भावले नै समाजलाई समुन्नत र मानवमुखी बनाउँछ।