बारा । बाराको मटिअर्वा नाकामा बुधबार सरकारको मल आपूर्तिमा असक्षमता देखिएपछि किसानहरूले भारतबाट मल आयात गर्न खोज्दा प्रहरी र कृषकबीच तनाव उत्पन्न भएको छ।
स्थानीय किसानहरू भारतबाट युरिया मल ल्याउने प्रयासमा सीमामा पुग्दा सुरक्षाकर्मीहरूले रोक लगाएपछि अवस्था तनावग्रस्त बनेको हो। रोकेको विरोधमा आक्रोशित किसानहरूले मटिअर्वा नाकामै टायर जलाएर प्रदर्शन गरे।
प्रदर्शनकारी किसानहरूले सरकारलाई समयमै मल आपूर्ति गर्न बारम्बार अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गरे। “खेतीको प्रमुख सिजन सुरु भइसक्यो, मलबिनाको खेती सम्भव छैन,” एक किसानले बताए, “सरकार मौन बसेपछि हामीले विकल्प खोज्दा पनि रोक लगाउनु अन्याय हो।”
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्दा केहीबेर धकेलाधकेल र नाराबाजीसमेत भएको थियो। यद्यपि कुनै ठूलो झडप वा घाइतेको जानकारी भने प्राप्त भएको छैन।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थिति अहिले सामान्य बनेको छ र थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी सतर्क अवस्थामा राखिएका छन्।
किसानहरूले चाँडै मलको आपूर्ति सुनिश्चित नभए अझ कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। स्थानीय तह र प्रदेश सरकारलाई पनि तत्काल हस्तक्षेप गरी समस्या समाधान गर्न दबाब दिन थालेका छन्।