वीरगञ्ज । रौतहटको गरुडा नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहलाई एक १६ वर्षीय छात्रालाई अनुचित सन्देश पठाएको आरोपमा निष्कासन गरिएको छ ।
गत आइतबार (असार २९) उनले छात्रालाई मोबाइलमा ‘ह्यापी बर्थडे मेरी जान’ भन्दै सन्देश पठाएपछि विवाद उत्पन्न भएको थियो ।
विद्यालय व्यवस्थापन समिति, वडा समिति, अभिभावक, राजनीतिक दलका प्रतिनिधि र समाजसेवीको संयुक्त बैठकले साहलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको विद्यालयका पूर्व अध्यक्ष राजकुमार दासले बताए ।
छात्राका अभिभावकहरूले दिएको उजुरी अनुसार, ४९ वर्षीय साहले विगत एक वर्षदेखि यौनजन्य मनसायले छात्रालाई सन्देश पठाउँदै आएका थिए । साहले कक्षा ७ सम्म अङ्ग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए ।
सन्देश सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले कुटपिट र तोडफोडको प्रयास गरेपछि प्रहरीले उनलाई सोही दिन नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले साहविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरी सात दिनको म्यादसहित अनुसन्धान थालिएको जानकारी दिए ।
स्थानीयका अनुसार साहले २०६२/६३ मा पनि यस्तै दुर्व्यवहार गरेको र सामाजिक दण्ड भोगेका पनि कानुनी कारबाही नहुँदा उनको व्यवहार दोहोरिएको आरोप छ । राहत कोटाका करार शिक्षक साहलाई २०७२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी नियुक्तिको आधारमा बर्खास्त गरेको थियो ।
स्थानीय अभिभावक, समाजसेवी र विद्यार्थीले साहमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । साथै, पीडित छात्राको मनोवैज्ञानिक सुरक्षाका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
घटनाले शिक्षकको आचरण र विद्यार्थी सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।