पर्सा । मधेश प्रदेशको अति संवेदनशील भिस्वा नाका हाल तस्करीको संगठित केन्द्रका रूपमा चिनिन थालेको छ। चीन र भारतसँगको खुला सीमाबाट भिस्वा हुँदै दैनिकजसो अवैध सामानको ओसारपसार भइरहेकाले सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीय स्रोतहरूका अनुसार, भिस्वा नाकाबाट चीनतर्फ स्याउ, स्टील, इलेक्ट्रिक चुरोट र कबाड समान तस्करी गरिन्छ भने भारतबाट धान, चामल, गहुँ, कपडा र स्पेयर पार्ट्सलगायत सामग्रीहरू नेपाल भित्र्याइन्छ। यस्तो अवैध कारोबार वर्षौंदेखि चल्दै आएको भए पनि पछिल्ला दिनमा यसको दर झनै तीव्र भएको छ।
यस तस्करी कारोबारमा स्थानीय प्रहरी प्रशासनको संलग्नता रहेको भन्दै स्थानीयवासीहरू आक्रोशित छन्। भिस्वा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मको ‘सेटिङ’ मा तस्करी संचालन भइरहेको गम्भीर आरोप उनीहरूले लगाएका छन्।
विशेषगरी, भिस्वा प्रहरी चौकीका हालका इन्चार्ज सई संजीव तामाङमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। केन्द्रबाटै सो स्थानमा पठाइएका तामाङ करिब दुई महिना अघिदेखि जिम्मेवारीमा छन्, तर उनको आगमनपछि तस्करी थप तीव्र भएको स्थानीयहरू बताउँछन्। सुरक्षाको जिम्मेवारी पाएका व्यक्तिबाटै तस्करीलाई संरक्षण गरिएको आरोप गम्भीर छ।
सई तामाङमाथि तस्करहरूसँग मिलेमतो गर्दै नियमन गर्नुको सट्टा संरक्षण गर्ने, कारवाही गर्नुको सट्टा मौन बस्ने, तस्करी सहज बनाउने वातावरण सिर्जना गर्ने आरोपहरू खुलेर लाग्न थालेका छन्। यस्तो गतिविधिले राज्यको राजस्वमा अर्बौंको क्षति पुर्याउने मात्र होइन, सीमा सुरक्षामै गम्भीर चुनौती उत्पन्न गराउने संकेत मिलेको छ।
सरकार र सुरक्षा निकायहरू यस विषयमा गम्भीर नभइ अपराधीलाई नै संरक्षण गर्ने दिशामा अघि बढेमा अवैध गतिविधि नियन्त्रणमा आउन असम्भव छ। त्यसैले भिस्वा नाका केन्द्रित तस्करीको व्यापक अनुसन्धान गरी संलग्न सबै पक्षमाथि कडा कारबाही आवश्यक देखिन्छ। नत्र भने पर्साको यो नाका अपराधको खुला गल्छीमा परिणत हुने खतरा बढ्दो छ।