पर्सा । मधेस प्रदेशका विभिन्न जिल्लामा कार्यरत नेपाल प्रहरीका घुमुवाहरूले आर्थिक आतंक मच्चाएको गम्भीर आरोप लागेको छ। सिरहा, धनुषा, महोत्तरी, सप्तरी, पर्सा, बारा, सर्लाही र रौतहट लगायत जिल्लाका सीमा नाकाहरूमा प्रहरी घुमुवाहरूले व्यापक रुपमा रकम असुली गर्दै आएको स्रोतले बताएको छ।
मधेस प्रदेश प्रहरी प्रमुख एवं नायब महानिरीक्षक (डिआईजी) उमा चतुर्वेदीका विश्वासपात्र वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) कुबेर खतिवडालाई सबै आर्थिक कारोबार तथा घुमुवा टोलीको नेतृत्वको जिम्मेवारी दिइएको स्रोतले जनाएको छ। सिरहामा चतुर्वेदी एसपी हुँदा निकट मानिएका खतिवडा हाल डिआईजीको निजी सहयोगी (पिए) समेत रहेका छन्।
सुत्ने–बस्ने सँगै, कारोबार पनि एकै ठाउँबाट
प्रहरी स्रोतका अनुसार खतिवडाले डिआईजी चतुर्वेदीसँग सँगै सुत्ने–बस्ने मात्र होइन, तस्करी र जुवाको रकम संकलन गर्ने मुख्य काम पनि सम्हाल्दै आएका छन्। उनलाई मधेसका विभिन्न जिल्लामा खटिएको घुमुवा टोलीको कमाण्डर बनाइएको छ, जसको आडमा उनी सशक्त शक्तिकेन्द्र बनेका छन्। मधेस प्रदेशका अधिकांश एसपीहरूसमेत खतिवडाबाट डराउने गरेको स्रोतको दाबी छ।
घुमुवा टोलीमा हवल्दारहरू पनि सक्रिय
वरिष्ठ सई खतिवडालाई साथ दिने उद्देश्यले हवल्दार मोतीलाल पटेल र उमेश महरा (चमार) लाई पनि विभिन्न नाकाहरूमा परिचालन गरिएको छ। उनीहरू आठै जिल्लामा सक्रिय रही व्यापारी, तस्कर र जुवाडेहरूबाट रकम उठाउने काममा संलग्न रहेको बताइएको छ।
जुवा र तस्करीको संरक्षणमा प्रहरी ?
स्रोतका अनुसार डिआईजी चतुर्वेदीकै मौखिक निर्देशनमा मधेस प्रदेशका विभिन्न स्थानमा जुवा सञ्चालन हुँदै आएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा, डिआईजी चतुर्वेदी र जिल्लाका एसपीहरूका नाममा घुमुवा टोलीले जुवाको खालबाट रकम संकलन गर्ने गरेको आरोप लागेको छ।
यसबाहेक लत्ताकपडा, चिनी, मल, केराउ, लागूऔषध, काजु, पाउडर दूध, कवाड लगायतका सामग्रीहरूको तस्करीको लाइन मिलाउने कार्य पनि घुमुवाहरूबाटै हुने गरेको जनाइएको छ।
नाका–नाका मार्फत असुली
धनुषाको जटही, खजुरी, मैनाथपुर, दुहबी; बारा, पर्सा, रौतहट, सिरहाका माडर, भगवानपुर, कल्याणपुर; सप्तरी र महोत्तरीका विभिन्न नाकाहरूबाट रकम संकलन गरी तस्करीको बाटो खोल्ने कार्य भइरहेको छ। यसरी उठाइएका रकमहरू तल्लो तहका प्रहरी अधिकारीदेखि माथिल्लो तहसम्म पुग्ने गरेको खुलासा भएको छ।
इन्स्पेक्टरको ठाउँमा सई घुमुवाको कमाण्डर
यसअघि घुमुवाको नेतृत्वमा प्रहरी निरीक्षक कृष्णदेव साह थिए भने अहिले त्यो जिम्मेवारी वरिष्ठ सई खतिवडालाई दिइएको छ। खतिवडा आफूलाई डिआईजीको आशीर्वाद प्राप्त पात्र मानेर पावर प्रयोग गरी घुमुवा कमाण्डर बनेका हुन्।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा डिआईजी उमा चतुर्वेदीसँग सम्पर्क हुन सकेन।