कालिमामाई । शिक्षामा सुधार गर्नुको सट्टा कालिमामाई गाउँपालिकाले कमजोर नतिजाका बाबजुद पनि शिक्षक सम्मानमा लाखौं रुपैयाँ खर्च गरेर जनधनको दुरुपयोग गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जम्मा ९ प्रतिशत मात्रै सफलता हासिल गरेका स्थानीय विद्यालयहरूका शिक्षकहरूलाई गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेर सम्मान गरेको तथ्य बाहिरिएको छ।
गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा १४६ जना शिक्षकलाई जनही १ हजार रुपैयाँको झोला, १ सय रुपैयाँको डायरी, ५० रुपैयाँको कलम वितरण गरिएको थियो। उक्त सामग्रीको अनुमानित लागत १ लाख ६० हजार रुपैयाँ मात्र देखिन्छ। त्यस्तै, नास्ता, पानी, टेन्ट र साउन्डको खर्च गरी अधिकतम ४० हजार रुपैयाँ खर्च भएको अनुमान गरिएको छ। कुल जम्मा खर्च २ लाख रुपैयाँभन्दा बढी नपुग्ने स्पष्ट देखिँदा देखिँदै बाँकी ३ लाख रुपैयाँ कहाँ खर्च भयो भन्ने प्रश्न अनुत्तरित छ।
गाउँपालिकाको शिक्षा शाखाबाट गरिएको यो कार्यक्रमलाई स्थानीय अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूले कडा आलोचना गरेका छन्। शिक्षा प्रणालीमा सुधारको खाँचो भएको बेला झनै जनताको करबाट उठेको रकम देखावटी सम्मानमा खर्च गर्नु गैरजिम्मेवार व्यवहार हो भन्ने उनीहरूको भनाइ छ।
अत्यन्तै न्यून नतिजा ल्याएको पालिकाले आत्ममूल्याङ्कन गर्नुको सट्टा फुर्सदिलो रूपमा खर्च देखाएर भ्रष्टाचारलाई लुकाउने प्रयास गरेको देखिन्छ। सार्वजनिक शिक्षाको गुणस्तर खस्किँदै गएको बेला यस्ता कार्यक्रमले शिक्षाको वास्तविक सुधारको एजेन्डालाई छायाँमा पारेको छ।
शिक्षकहरूलाई दोष दिनु उचित नहुन सक्छ, तर असफलता बोक्ने जिम्मेवार व्यक्तिहरूलाई कारणबिना पुरस्कृत गर्नु जनताको आँखामा धूलो हाल्ने काम सरह हो। स्थानीय निकायहरूले बजेट खर्च गर्दा परिणाममुखी र पारदर्शी हुनु आवश्यक छ, नत्र जनगुनासो चुलिँदै जानेछ।