वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको यही साउन ९ गतेका लागि तय गरिएको पर्साको ठोरी गाउँपालिकाको भ्रमण अन्तिम समयमा स्थगित गरिएको छ। राजनीतिक व्यस्तता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडिएको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रोकिएको हो।
प्रधानमन्त्री ओली ठोरीस्थित निर्मलबस्ती खानेपानी आयोजना उद्घाटन गर्न र त्यसपछि ठोरी–२ स्थित राइधारामा आयोजना गरिने भव्य स्वागत समारोहमा सहभागी हुन लागेका थिए। यस भ्रमणका लागि ठोरी गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, नागरिक र सुरक्षाकर्मीबीच व्यापक तयारी थालिएको थियो।
तर, सोमबार राति प्रधानमन्त्रीको भ्रमण स्थगित भएको पुष्टि गर्दै ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानीयवासीको उत्साहमा खलल पुगेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमण नहुने जानकारी उच्च राजनीतिक तहबाट आएको हो।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक गतिविधि, बैठकहरू तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियता र एमालेमै फर्कने चर्चा झन् चर्किएको सन्दर्भले भ्रमण रोकिएको एमाले निकट स्रोतहरूले जनाएका छन्।
भ्रमण स्थगनसँगै ठोरीमा तयारीमा जुटेका स्थानीयवासीमा निराशा देखिएको छ। प्रधानमन्त्रीको आगमनले ठोरीको पर्यटन र पूर्वाधार विकासप्रति राष्ट्रिय ध्यानाकर्षण हुने अपेक्षा गरिएको थियो। अब भ्रमण कहिले हुने भन्ने विषयमा पार्टी र प्रधानमन्त्रीको सचिवालयबाट आधिकारिक जानकारी भने आइसकेको छैन।