पर्सा । पर्सागढी नगरपालिका वडा नं. ९, बडेर्वाका स्थायी बासिन्दा मनोज राउत गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएका छन्। कलेजो खराबीका कारण अहिले उनको जीवन संकटमा परेको छ र कलेजो प्रत्यारोपण नै अन्तिम विकल्प बाँकी रहेको चिकित्सकहरूको भनाइ छ।
डाक्टरको सल्लाहअनुसार शीघ्र कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आएपनि आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढ्न सकेको छैन। मनोज राउतले यसअघि पनि आफ्नो स्वास्थ्योपचारमा लाखौं रुपैयाँ खर्च गरिसकेका छन्। तर, उनको परिवारको आर्थिक अवस्था अहिले अत्यन्त दयनीय रहेको छ।
कलेजो प्रत्यारोपणका लागि अनुमानित ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ। हालसम्म प्रत्यक्ष सरकारी अनुदानको व्यवस्था नभएको र आफ्नै धर्मपत्नी कलेजो दान गर्न तयार भए पनि आर्थिक अभावले प्रत्यारोपण प्रक्रिया थाल्न नसकिएको जनाइएको छ।
स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गइरहेको अवस्थामा, मनोज राउतको जीवनरक्षा गर्न सहयोगी मन भएका सबै व्यक्तिहरू, संघसंस्था तथा समुदायलाई यथाशक्य आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।
"दान नै धर्म हो" भन्ने भावना अनुरूप, मनोज राउतको जीवन बचाउन अबको सहायताले निर्णायक भूमिका खेल्न सक्छ। सबैमा सहयोगका लागि अपिल गरिन्छ।