वीरगञ्ज । अति जीर्ण अवस्थामा पुगेको वीरगञ्जस्थित ऐतिहासिक नारायणी रंगशालाको पुनर्निर्माण प्रक्रिया तीव्र पार्ने तयारी गरिएको छ। सोही सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा सदस्य–सचिवसहितको टोली परिषद् कार्यालयमै उपस्थित भई नारायणी रंगशाला तथा प्रस्तावित कबर्डहल निर्माण कार्यबारे गम्भीर छलफल सम्पन्न भएको छ।
छलफलमा रंगशाला परिसरभित्रका केही व्यक्तिको जग्गा मुआब्जा सम्बन्धी प्रक्रिया छिटो टुंग्याउने र संघीय तथा प्रदेश सरकारबाट विनियोजित बजेटको अधिकतम सदुपयोग गर्दै निर्माण कार्य शीघ्र प्रारम्भ गर्ने सहमति भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिहरूले नारायणी रंगशालालाई पुनः मधेश प्रदेश र सम्पूर्ण राष्ट्रको गौरवको प्रतीकका रूपमा सञ्चालनमा ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, नारायणी रंगशालाको गौरवपूर्ण इतिहासलाई जोगाउँदै नयाँ स्वरूपमा यसलाई आधुनिक र सुविधा सम्पन्न रंगशालाका रूपमा विकास गर्ने योजना रहेको जनाइएको छ।
"हामीले आपसी समन्वयमा काम अघि बढाउने निर्णय गरेका छौं। निर्माण कार्यमा कुनै ढिलाइ हुनेछैन," परिषद्का एक अधिकारीले बताए।
आशा गरिन्छ, चाँडै नै नारायणी रंगशाला नयाँ स्वरूपमा पुनः सञ्चालनमा आई वीरगञ्जवासी लगायत सम्पूर्ण देशवासीको गौरवको केन्द्र बन्नेछ।