पर्सा । पकहाँमैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सर्फुन नेशाको मिलेमतोमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको नयाँ प्रकरण सार्वजनिक भएको छ। प्रदेश तथा संघीय कानुनको स्पष्ट उल्लंघन गर्दै नियमविपरीत सल्लाहकार, प्रेस सल्लाहकार र स्वकीय सचिवको नियुक्ति गरी करिब चार लाख छयासी हजार रुपैयाँभन्दा बढी रकम अनियमित रूपमा खर्च गरिएको तथ्य फेला परेको हो।
मधेश प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(८) मा स्पष्ट रुपमा प्रमुख र उपप्रमुखले सल्लाहकार वा स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था छ। तर, उक्त प्रावधानको अवज्ञा गर्दै अध्यक्ष मेहताले निम्न व्यक्तिहरुलाई गैरकानुनी रूपमा नियुक्त गरेका छन् ।
सबैभन्दा गम्भीर पक्ष के छ भने — उपाध्यक्ष सर्फुन नेशाकै श्रीमानलाई स्वकीय सचिवमा नियुक्त गरेर तिनलाई जनताको करबाट संकलित करिब दुई लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको हो। यसरी आफन्तलाई पद सृजना गरी आर्थिक लाभ दिलाउनु नै नाङ्गो नातावाद र शक्ति दुरुपयोगको ज्वलन्त उदाहरण हो।
उक्त नियुक्तिमा नियुक्त कर्मचारीहरूको कार्यालय हाजिरी रजिष्टर नै नभएको, कुनै कार्य प्रगति प्रतिवेदन नपेस गरिएको, सेवा–सुविधाको प्रयोजनमा कानुनी आधार नदेखिएको पाइएको छ। यसरी मनपरी ढंगले नियुक्ति गरेर राज्यकोषबाट रकम भुक्तानी गर्नु कानुनी र नैतिक रूपमै दुर्व्यवहार हो।
अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सर्फुन नेशा मिलेर आफन्त तथा निकटवर्तीहरूलाई लाभ दिन नियुक्ति गराई सार्वजनिक स्रोतको दुरुपयोग गरेका छन्। यस प्रकारको गतिविधिले स्थानीय तहमा पारदर्शिता र जवाफदेहितामा गम्भीर प्रश्न उठाएको छ।
सर्वसाधारण करदाता र स्थानीय नागरिकले अब प्रश्न गर्न थालेका छन् —
के जनताको पैसा यस्तो गैरकानुनी हर्कतमा खर्चिनु उपयुक्त हो? के आफन्तलाई जागिर खुवाएर पैसा बाँड्ने छुट जनप्रतिनिधिलाई छ?
यो प्रकरण यति स्पष्ट छ कि यथाशीघ्र छानबिन गरी सम्पूर्ण रकम असुल गर्नुपर्ने माग तीव्र हुँदै गएको छ।
पकहाँमैनपुरको नेतृत्व भ्रष्टाचारको नक्सामा स्पष्ट देखिन थालेको छ। जनताले यस्ता गैरजिम्मेवार र स्वार्थी नेतृत्वको जवाफ अवश्य माग्नेछन्।