पर्सा । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–१ धोरेस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नातावादको आरोप लाग्दै विवाद चुलिएको छ। विद्यालयका प्रधानाध्यापक उपदेश मेहताले आफ्नो छोरा सागर मेहतालाई लेखा शाखामा नियुक्त गर्न गुपचुप तयारी गरेपछि स्थानीयवासी आक्रोशित भएका छन्।
प्रक्रिया विना र कुनै सूचना नदिई प्रधानाध्यापकले आफ्नै छोरालाई नियुक्त गर्न खोजेको भन्दै स्थानीय अभिभावक, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले विरोध जनाएका छन्। सार्वजनिक शैक्षिक संस्थामा सबै पदपूर्ति खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने माग गर्दै उनीहरूले यस कदमलाई ‘गैरकानुनी र नातावादी’ भन्दै अस्वीकार गरेका छन्।
एक स्थानीय अभिभावकले भने, “विद्यालय कुनैको निजी सम्पत्ति होइन, सार्वजनिक सम्पत्तिमा यस्ता निर्णयहरू पूर्ण रूपमा अनुचित छन्। यदि नियम मिचिएर नियुक्ति गरिन्छ भने हामी कडा आन्दोलनमा जान बाध्य हुनेछौं।”
विवादसँग सम्बन्धित स्रोतका अनुसार उक्त पदका लागि विज्ञापन गर्दा वाणिज्य (कमर्स) संकायका विद्यार्थीहरूलाई प्राथमिकता दिने उल्लेख गरिएको थियो। तर प्रधानाध्यापक मेहताका छोरा भने विज्ञान संकायका विद्यार्थी रहेको तथ्यसमेत सार्वजनिक भएको छ।
यसअघि पनि यही गाउँपालिकामा पर्ने श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा तत्कालीन प्रधानाध्यापक धुपनाथ साहले आफ्नो छोरालाई लेखा शाखामा नियुक्त गरेको घटनालाई उदाहरण दिँदै स्थानीयहरूले ‘सेवानिवृत्त हुने बेलामा छोरालाई उपहारस्वरूप जागिर दिने प्रवृत्ति’ कायम भएको भन्दै आलोचना गरेका छन्।
विद्यालय प्रशासनले यस विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। तर स्थानीयहरूका अनुसार यसले विद्यालयको शैक्षिक वातावरण र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले विद्यालय व्यवस्थापन समिति र शिक्षा सम्बन्धी निकायहरूलाई छिटो हस्तक्षेप गरी न्यायोचित प्रक्रिया अनुरूप मात्रै नियुक्ति प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।