पर्सा । पकहाँमैनपुर गाउँपालिकामा अध्यक्ष सुरेश मेहताको नेतृत्वमा गम्भीर आर्थिक अनियमितता र भ्रष्टाचार गरिएको पत्ता लागेको छ। स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको खुलेआम उपहास गर्दै अध्यक्ष मेहताले १५ शय्याको आधारभूत अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको नाममा झण्डै डेढ करोड रुपैयाँ अनियमित रूपमा खर्च गरेका छन्।
संघीय सरकारद्वारा तोकिएको शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७५ र सार्वजनिक खरिद नियमावली, २०६४ को स्पष्ट उल्लंघन गर्दै अध्यक्ष मेहताको मिलेमतोमा ग्रीनटेक कन्सल्टेन्ट्स प्रा.लि. नामक कम्पनीलाई रु. १४,४९,७९० को भुक्तानी दिइएको छ।
सरकारी मापदण्ड अनुसार, माटो परीक्षण, भवन डिजाईन र अन्य खर्च गरी जम्मा रु. ४,८१,२१९ लागत अनुमान हुने देखिन्छ। तर, अध्यक्ष मेहताको निर्देशनमा त्यसको तीनगुणा बढी रकम भुक्तानी गरिएको छ, जुन प्रत्यक्ष रूपमा भ्रष्टाचारको संकेत हो।
सार्वजनिक खरिद नियमावलीअनुसार अनिवार्य पेश गर्नुपर्ने पेशागत उत्तरदायित्व बीमा र कार्य अनुभव प्रमाणपत्र जस्ता कानुनी कागजातसमेत कम्पनीले नपेस गरेको अवस्थामा पनि भुक्तानी गरिएको देखिन्छ, जसले पालिकाको भित्री मिलेमतो र भ्रष्ट मनसाय उजागर गर्छ।
त्यस्तै, तयार पारिएको डीपीआर न त जिन्सी खातामा दर्ता गरिएको छ, न नै कार्यान्वयनमा ल्याइएको छ। कार्यालयले प्रतिवेदन भित्र्याएको कुनै लिखित प्रमाण छैन, जसले गर्दा यस्तो कार्य केवल भुक्तानीमुखी भ्रष्ट अभ्यास हो भन्ने पुष्टि हुन्छ।
आश्चर्यजनक रूपमा, अस्पताल योजना पालिकाको स्वीकृत बजेटभित्र पर्नेसम्म पनि होइन। बजेटबाहिरको र कार्यान्वयन सम्भावना नै नभएको योजनामा यति ठूलो रकम खर्चिनु जनताको करको पैसामा खेलवाड गर्नु हो।
स्थानीय सरकारले जनताको हितका लागि पारदर्शिता, जवाफदेहिता र परिणाममुखी योजना कार्यान्वयन गर्नुपर्ने हो। तर, अध्यक्ष सुरेश मेहताले त्यसको विपरीत, स्वार्थअनुसार मिलेमतो गरेर परामर्शदाता नियुक्ति, लागत फुलाएर भुक्तानी र बिना कागजात अनियमित खर्च जस्ता कार्य गरी पालिकालाई भ्रष्टाचारको अखडा बनाएका छन्।
“के डेढ करोडको प्रतिवेदन कुनै योजना बिना फाल्नका लागि बनाइएको हो?” “न नियम, न मापदण्ड, न जिन्सी प्रक्रिया — के अध्यक्षको मनपरी यत्ति हो?” “के यस्तो भ्रष्टाचारको जबाफ कसले दिने?”
पकहाँमैनपुर गाउँपालिकामा भइरहेको यस प्रकारको खुलेआम भ्रष्टाचार अब अनुसन्धानको विषय मात्र होइन, कडा कारबाहीको विषय बनिसकेको छ। जनताको सम्पत्तिमा खेलवाड गर्ने नेतृत्व कानूनको कठघरामा उभ्याइनु आवश्यक छ। यदि यस्तो अनियमितता तुरुन्त रोकिएन भने पकहाँमैनपुर भ्रष्टाचारको नयाँ केन्द्र बन्ने निश्चित छ।