वीरगन्ज, ८ साउन । संचारकर्मी कृष्णा कुशवाहाले वीरगन्जस्थित कपडा बैंकलाई दुई झोला नयाँ कपडा सहयोग गरेका छन्। आज वीरगन्जको ऐतिहासिक घण्टाघर परिसरमा अवस्थित कपडा बैंकको कार्यालयमै पुगेर उनले उक्त सामग्री सहयोग हस्तान्तरण गरेका हुन्।
सहयोग सामग्री कपडा बैंकका अध्यक्ष लालबाबु सिंह तथा अन्य प्रतिनिधिहरूको उपस्थितिमा ग्रहण गरियो। संचारकर्मी कुशवाहाले सामाजिक उत्तरदायित्वअन्तर्गत आफुबाट सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै भने, “सामाजिक सेवामा सबैले आ-आफ्नो ठाउँबाट सानो प्रयास गरे पनि ठूलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। कपडा बैंकमार्फत आवश्यक व्यक्तिलाई सहयोग पुग्ने विश्वासले मैले यो सहयोग गरेको हुँ।”
कपडा बैंकका अध्यक्ष सिंहले सहयोगप्रति आभार प्रकट गर्दै समाजमा यस्ता सकारात्मक उदाहरणहरूबाट अरू पनि प्रेरित हुने विश्वास व्यक्त गरे। उनले संचारकर्मी कुशवाहाको योगदानलाई सराहना गर्दै नियमित अभियानमा यस्ता सहयोगले थप ऊर्जा मिल्ने बताए।
कपडा बैंकले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारहरूलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। संचारकर्मी कुशवाहाको आजको सहयोगले संस्थाको उद्देश्यलाई सघाउने विश्वास लिइएको छ।