पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेश प्रदेशको अति सुख्खाग्रस्त पर्सा र बारा जिल्लाको हवाई तथा स्थलगत निरीक्षण गर्नुहुने भएको छ। निरन्तर खडेरीका कारण गम्भीर कृषि र जनस्वास्थ्य समस्या देखिएको पर्सा–बारा क्षेत्रमा प्रधानमन्त्रीको निरीक्षणलाई उच्च महत्वका साथ हेरिएको छ।
सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली शुक्रबार दिउँसो हवाई निरीक्षण गर्दै सम्बन्धित जिल्लाहरूका स्थानीय प्रशासन, जनप्रतिनिधि र पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ। निरीक्षणपश्चात् प्रधानमन्त्रीले राहत तथा पुनःस्थापनासम्बन्धी थप प्याकेजहरू घोषणा गर्ने विश्वास गरिएको छ।
यसअघि बुधबार बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिसकेको छ। सो निर्णयसँगै प्रभावित जिल्लामा राहत, उद्धार र दीर्घकालीन व्यवस्थापनका लागि संघीय सरकार अग्रसर हुने संकेत मिलेको छ।
सुख्खाबाट प्रभावित किसान, दैनिक श्रमिक र सर्वसाधारणको पीडालाई सम्बोधन गर्दै सरकारले यथाशीघ्र प्रभावकारी राहत कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको निरीक्षणले स्थानीय जनताको पीडा महसुस गर्दै समुचित नीति निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ।