ढल्केबर । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वनक्षेत्रभित्रको जग्गा अनधिकृत रूपमा किनबेच भइरहेको खुलासा भएको छ । स्थानीय र भूमाफियाको मिलेमतोमा कपाली तमसुक बनाएर वनको जग्गा खरिदबिक्री हुने गरेको खुलासा भएको हो ।
स्थानीय केवलकिशोर यादवले सो वन क्षेत्रभित्रको नौ कट्ठा जमिन धनुषाधाम नगरपालिका–९, यज्ञभूमिका साने खत्रीलाई बिव्रmी गरेको भेटिएपछि यस्तो तथ्य खुलेको सबडिभिजन वन कार्यालय गोदारका वन अधिकृत भगलु मण्डलले बताउनुभयो । यादवले सो जमिन आफ्नो हकभोगमा रहेको भन्दै नौ कट्ठा जमिन दुई लाख ८८ हजार रुपियाँमा खत्रीलाई बिव्रmी गरेको प्रमाण भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वन क्षेत्रभित्रको जमिन खरिदबिव्रmी गैरकानुनी हो ।
स्थानीयका अनुसार २०५० सालतिर कमला नदीमा आएको ठुलो बाढीले ल्याएको गिट्टी, बालुवाले यो वनक्षेत्र पुरेको थियो । त्यसको केही वर्षपछि केही स्थानीयले यो जग्गा खनजोत गरी अन्नबाली लगाउन थाले । यही खनजोतलाई आधार बनाएर केही व्यक्तिले जग्गा आफ्नो भएको दाबी गर्न थालेका छन् । यसैको आडमा गाउँका धनीमानी व्यक्ति र बाहिरका मानिसले समेत यस क्षेत्रमा जग्गा कब्जा गरेका छन् । यस ठाउँमा यसरी नै कपाली तमसुक बनाएर जमिन खरिदबिक्री हुने गरेको स्थानीयको भनाइ छ ।
वनक्षेत्रभित्रको जग्गाको अनधिकृत किनबेच बढेपछि सबडिभिजन वन कार्यालय गोदारले यसलाई नियन्त्रण गर्ने पहल सुरु गरेको छ । वन अधिकृत मण्डलले अतिक्रमित वनको जग्गा खाली गराउने बताउनुभयो । उहाँले करिब ३० हेक्टरभन्दा बढी जग्गा अतिक्रमणमा परेको जानकारी दिँदै ती जग्गालाई अतिव्रmमणमुक्त गराएर तारजाली लगाउने र वृक्षरोपण गर्ने योजना रहेको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले सार्वजनिक वनक्षेत्रभित्र पर्ने भूभागमा स्वामित्व दाबी गर्न वा खरिदबिक्री गर्नु गैरकानुनी भएको बताउनुभयो । उहाँले यस विषयमा छानबिन प्रक्रीया अगाडि बढाइएको बताउँदै केही प्रमाण सङ्कलन गरिएको जानकारी दिनुभयो ।
उहाँले वनक्षेत्रको जग्गा यसरी अनधिकृत किनबेच र कब्जाले प्राकृतिक स्रोतमाथि असर पर्ने बताउँदै वनविनाशको असर मधेश प्रदेशमा प्रत्यक्ष रूपमा देखिएको बताउनुभयो ।