पर्सा । लगातारको खडेरीका कारण पकाहा मैनपुर गाउँपालिकामा पानीको चरम अभाव छ। किसानहरू रोपाइँ गर्न नसकेर चिन्तामा छन्, सर्वसाधारणले पिउने पानीको जोहो गर्न पनि हैरानी भोगिरहेका छन्। यस्तो गम्भीर संकटको घडीमा गाउँपालिका अध्यक्ष सुरेश मेहता नेतृत्वको "जम्बो टोली" भारत भ्रमणमा गएको खुलासा भएको छ।
गाउँपालिका अध्यक्ष सुरेश मेहता, प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, शिक्षा शाखा प्रमुख सञ्जय चौहान, जनप्रतिनिधि निकट प्रधानाध्यापक उमेश यादवलगायत केही अन्य व्यक्ति भ्रमणको नाममा भारत गएका हुन्। एक कर्मचारीले नाम नखुलाउने सर्तमा दिएको जानकारी अनुसार, उक्त भ्रमण न त सार्वजनिक रूपमा जानकारी दिइएको थियो, न त त्यसको औपचारिक निर्णय नै सार्वजनिक गरिएको छ।
स्थानीयवासीले गम्भीर संकटको बेलामा जनप्रतिनिधिहरूको यस प्रकारको गैरजिम्मेवारी व्यवहारप्रति तीव्र आलोचना गरेका छन्। “हामी यहाँ पानीको एक थोपा पानीका लागि संघर्ष गर्दैछौं, तर हाम्रा प्रतिनिधि विदेश घुम्न गएका छन्,” एक स्थानीय बासिन्दाले आक्रोश पोखे।
यता, पालिकाले भने भ्रमणको उद्देश्य, खर्च विवरण, वा लाभबारे कुनै आधिकारिक सूचना जारी गरेको छैन। यसले जनप्रतिनिधिहरूको भ्रमणमाथि अझ शंका उत्पन्न गराएको छ।
खडेरीले गाउँपालिकाभित्र खेती चौपट पार्दै गर्दा जनप्रतिनिधिहरूको यस्तो समय र स्रोतको दुरुपयोग नैतिक र व्यवहारिक रूपमा निन्दनीय भएको विश्लेषकहरूको भनाइ छ। “संकटको समयमा जनताको साथमा हुनुको सट्टा भ्रमणको बहानामा भाग्नु नैतिक पतन हो,” एक स्थानीय नागरिक अगुवाले टिप्पणी गरे।
अब गाउँपालिका जनप्रतिनिधिहरूले जनतासामु जवाफ दिनुपर्ने समय आएको छ — आखिर जनताको सेवा गर्ने भनेर निर्वाचित भएका प्रतिनिधिहरूको प्राथमिकता किन जनताभन्दा पहिले आफ्ना 'घुमफिर' हुन्?