पर्सा । खडेरीको चपेटामा परेको पकाहा मैनपुर गाउँपालिकामा पानीको चरम अभाव छ। खेत सुक्खा छन्, गाउँलेहरू पिउन पानीका लागि संघर्षरत छन्। यस्तो गम्भीर संकटको घडीमा गाउँपालिका अध्यक्ष सुरेश मेहतासहितको "जम्बो टोली" चुपचाप भारत भ्रमणमा निस्किएको समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको छ।
पानीको एक थोपा अभावमा छटपटिरहेका जनता आफ्नो प्रतिनिधिको साथ र सहयोगको अपेक्षामा थिए, तर जनप्रतिनिधि भने ‘भ्रमण’को नाममा विदेश निस्किएका थिए। ज्योती दैनिकले उक्त समाचार पहिलोपटक प्रकाशन गरेपछि चर्किएको जनदबाबका कारण टोली हतारहतरमा फिर्ता भएको हो।
समाचार बाहिरिएपछि आलोचनाको घेरामा परेका जनप्रतिनिधिहरू अब आफू चोखो सावित गर्ने प्रयासमा लागेका छन्। भ्रमणमा सामेल केही सदस्यले त आफू कतै नगएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरी बचाउको प्रयास गरिरहेका छन्। यद्यपि, स्थानीयवासीहरूले तिनका दाबीलाई "झुटको पराकाष्ठा" भनेका छन्।
एक स्थानीय शिक्षक भन्छन्, “पहिला जानुपूर्व सूचना नदिने, निर्णय सार्वजनिक नगर्ने अनि फर्केपछि म नभएको दाबी गर्ने? यो त जनतालाई मूर्ख ठान्नु जस्तै हो।”
पालिकाका प्रमुख प्रशासकीय अधिकृतदेखि शिक्षा शाखा प्रमुखसम्म सहभागी भनिएको यो भ्रमण न त पालिकाको कार्यसूचीमा थियो, न त आधिकारिक बैठकको निर्णय। यसरी सार्वजनिक जिम्मेवारी ओगट्ने व्यक्तिहरूले बिना पारदर्शिता व्यक्तिगत फाइदाका लागि स्रोतको दुरुपयोग गर्नु गम्भीर विषय भएको विश्लेषकहरू बताउँछन्।
नाम नखुलाउने शर्तमा एक स्थानिय यादव अगुवा भन्छन्, “यस्तो संकटको समयमा पालिकाको हरेक कदम जनहितमा हुनु जरुरी हुन्छ। तर हाम्रा प्रतिनिधिहरूको ध्यान जनताको प्यासभन्दा पनि आफ्ना भ्रमण र व्यक्तिगत सन्तुष्टिमा केन्द्रित देखिन्छ।”
खडेरीले खेती चौपट पारेको छ, बासिन्दाहरूको जनजीवन प्रभावित छ, तर यस्तो बेलामा जिम्मेवार तहका व्यक्तिहरूको गैरजिम्मेवार व्यवहारप्रति आक्रोश बढ्दै गएको छ।
अब गाउँपालिका जनप्रतिनिधिहरूले न केवल भ्रमणको खर्च र औचित्यबारे जवाफ दिनुपर्नेछ, बरु सार्वजनिक माफीसहित भविष्यमा पारदर्शिता कायम गर्ने प्रतिवद्धता जनाउनुपर्ने स्थानीयको माग छ।