रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिका–८ मा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। स्थानीय ३५ वर्षीय पसिन्द्र कुशवाहाले शुक्रबार राति करिब १२:३० बजे छिमेकीको घरमा प्रवेश गरी एक युवतीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ। घटनापछि उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरा अन्तर्गत रजबडा प्रहरीचौकीमा बुझाइएको हो।
प्राप्त जानकारीअनुसार, पीडित यादव समुदायकी युवती रहेको र घटनालाई आर्थिक लेनदेनका आधारमा मिलाउन प्रहरीचौकीमा दबाबपूर्ण छलफल भइरहेको छ। पीडित पक्षलाई आरोपित पक्षबाट प्रलोभन र मानसिक दबाब दिइएको स्थानीयवासीले बताएका छन्।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरीक्षक महेश सिंहले घटनाको यथार्थ विवरण पत्ता लगाउन पीडित युवतीसँग आवश्यक सोधपुछ भइरहेको जानकारी दिए।
घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीयबासी तथा अधिकारकर्मीहरूले माग गरेका छन्।