पर्सा । पकहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताको नेतृत्वमा सूचना प्रविधि तथा शिक्षामा सुधार गर्ने उद्देश्यले विद्यालयहरूलाई दिएको इन्टरनेट जडान अनुदान रकम समेत अनुगमनबिना खर्च भएको तथ्य सार्वजनिक भएको छ। नियमअनुसार विद्यालयले प्राप्त गरेको अनुदानबाट इन्टरनेट जडान भएको प्रमाण पालिकाले संकलन गरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भए तापनि दुई विद्यालयमा इन्टरनेट जडान नै नभई रकम खर्च गरिएको पाइएको छ।
कार्यक्रम कार्यान्वयन पुस्तिका, २०८०/८१ को दफा २.७.१३.१० अनुसार पालिकाले प्रत्येक विद्यालयलाई रू. १२,००० को दरले निःशुल्क इन्टरनेट जडानका लागि अनुदान दिन सक्ने व्यवस्था छ। तर लेखापरीक्षणको क्रममा पालिकाका श्री नेपाल राष्ट्रिय मा.वि. धोरे र श्री रा.प.भ. मा.वि. पकहाँमैनपुर नामक दुई विद्यालयमा उक्त रकम गइसकेपनि इन्टरनेट सेवा जडान नभएको पुष्टि भएको छ।
गाउँपालिकाको नेतृत्व सम्हालिरहेका अध्यक्ष सुरेश मेहताले विकास निर्माण तथा सेवामूलक कार्यहरूको अनुगमन र मूल्याङ्कनमा लापरवाही देखाउँदै आएका छन्। इन्टरनेट जडानजस्तो आवश्यक र पारदर्शिता खोज्ने क्षेत्रमा समेत न अनुगमन गरिएको, न प्रतिवेदन संकलन गरिएको देखिनु जनप्रतिनिधिको उदासीनता र गैरजिम्मेवारीको स्पष्ट प्रमाण हो।
शिक्षा सुधारका नाममा विद्यालयलाई दिइने अनुदान रकम इन्टरनेट नजडानिकनै खर्च भएको देखिनु विकासको नाममा देखावटी खर्च मात्र हो। यसबाट न त विद्यार्थी लाभान्वित भए, न शिक्षक, बरु रकम कहाँ, कसरी खर्च भयो भन्ने नै अस्पष्ट छ।
अहिले सम्म नेट जडान नभएको अवस्थामा दुबै विद्यालयबाट रकम फिर्ता गराउने वा जडान गराएको प्रमाण तत्काल पेश गर्न गराउने प्रक्रिया अगाडि बढाइनुपर्ने हो। तर अध्यक्ष सुरेश मेहताले कुनै चासो नदेखाएकोले प्रशासनिक लापरवाही र भ्रष्ट सोचको संकेत मिलेको छ।
सार्वजनिक स्रोत र करदाताको पैसा यसरी बेखर्ची तरिकाले हावा मै उडाउने प्रवृत्तिको तत्काल अन्त्य गरिनु जरुरी छ। स्थानीयबासी र अभिभावकहरूले अब प्रश्न उठाउन थालेका छन् —
"हाम्रो बालबालिकाको प्रविधिमा पहुँच बढोस् भनेर दिएको पैसा नेताहरूको लापरवाहीले किन खेर गयो?"
पकहाँमैनपुर गाउँपालिकामा लगातार देखिँदै आएको गैरकानुनी नियुक्ति, बजेटको मनपरी खर्च र अनुगमनको अभाव यस्तै घट्नाले पुष्टि गर्न थालेको छ।