वीरगंज । वीरगंज नाका हुँदै गएको आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका २ हजार ३३७ थान विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।
वीरगंज भन्सार कार्यालयका अनुसार सवारीसाधनको यो आयातबाट सरकारको राजस्वमा १ अर्ब ८० करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार विद्युतीय सवारीको तुलनामा इन्धनबाट चल्ने सवारीसाधन अझै पनि धेरै आयात भइरहेका छन् । तथापि, विद्युतीय सवारीप्रतिको चासो भने क्रमशः बढ्दो क्रममा रहेको देखिएको छ ।
गत आवमा १६ थान २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका विद्युतीय जिप, कार तथा भ्यानहरू आयात भएका छन्, जसको मूल्य १२ करोड ६ लाख रुपैयाँ बराबर रहेको छ ।
► १६ थान १२ करोड ६ लाख मूल्य बराबरका साधारण विद्युतीय जिप, कार तथा भ्यान आयात भएका छन्, जसबाट १९ करोड ७४ लाख रुपैयाँ राजस्व उठेको छ ।
► ५० थान ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका सवारीहरूको मूल्य १३ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
► ३६ थान १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका सवारीसाधनको आयात मूल्य २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
► एक हजार ८२१ थान विद्युतीय मोटरसाइकलहरू पनि यो नाका हुँदै भित्रिएका छन्, जसको मूल्य ४३ करोड २ लाख रुपैयाँ बराबरको रहेको भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै सरकारले भन्सार दर तथा कर प्रणालीमा छुट र प्रोत्साहन नीति अपनाए पनि इन्धनबाट चल्ने सवारीसाधनहरूको वर्चस्व कायम रहेको देखिन्छ ।