पर्सा । सार्वजनिक सेवाको नाममा सेवाग्राहीमाथि दुःख दिने प्रवृत्ति फेरि एकपटक उजागर भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी राजकुमार गोलेमाथि नारायणी यातायात कार्यालय वीरगञ्जमा सेटिङ मिलाएर अवैध रूपमा रकम असुली गरेको गम्भीर आरोप लागेको छ।
बारा दरबन्दीका गोले दुई वर्षदेखि पर्सा जिल्लामै कार्यरत रहँदै नियमित रूपमा यातायात कार्यालयमा बसेर सेवाग्राहीसँग सेटिङका नाममा हजारौं रुपैयाँ असुल्दै आएको स्रोतको दाबी छ। लाइसेन्स नवीकरण, सवारी चालक अनुमति पत्र, सवारी दर्ता लगायतका सेवामा अनावश्यक झन्झट सिर्जना गराई समाधानका नाममा पैसा लिने उनको चलनले कार्यालयमा त्रास र अविश्वासको वातावरण सिर्जना भएको छ।
सेवाग्राहीहरूका अनुसार गोले आफ्ना नजिकका दलालहरूमार्फत ‘सिफारिस’ ल्याउन बाध्य पार्ने गर्छन्, जसपश्चात ती दलालले रकम असुली गर्ने र गोलेमार्फत काम अघि बढाइने गरेको छ। नाम नखुलाउने सर्तमा एक सेवाग्राहीले भने, “सवारी चालक अनुमतिपत्र बनाउन एक व्यक्तिको सिफारिस ल्याउन भनियो, जसले सिधै हजारौं रुपैयाँ माग्यो। पछि थाहा भयो त्यो व्यक्ति गोलेकै सेटिङमा काम गर्छ।”
यो घटनाले ट्राफिक प्रहरी र दलालबीचको गहिरो मिलेमतो उजागर गरेको छ। सरकारी सेवामा खटिएको एक सुरक्षाकर्मीबाट यस्तो गैरकानुनी कार्य हुनु आफैँमा दुःखद् मात्र नभई खतरनाक संकेत पनि हो।
गोलेमाथि लामो समयदेखि यस्तै किसिमको आरोप लाग्दै आए पनि प्रहरी प्रशासनको मौनता झनै शंकास्पद देखिएको छ। आफू उच्च तहसम्म चिनजान भएको भन्दै "मेरो केही बिगार्न सक्दैन" भन्ने गोलेको दम्भपूर्ण भनाइले उनको संरक्षण कसले गरिरहेको छ भन्ने प्रश्न समेत उठाएको छ।
स्थानीय नागरिक र नागरिक अधिकारकर्मीहरूले गोलेमाथि तत्काल निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन्। उनीहरू भन्छन्, “यदि यस्ता भ्रष्ट ट्राफिक प्रहरीलाई कारबाही नगरिने हो भने आम नागरिकको प्रहरीप्रतिको विश्वास दिनानुदिन घट्दै जानेछ।”
सरकार र प्रहरी प्रशासनले भ्रष्टाचारविरुद्धको नारा मात्र हैन, व्यवहारमा पनि कडाइ देखाउने बेला आएको छ। नत्र भने यातायात कार्यालयमा देखिएको यस्तो बेथिति व्यापक रूपमा फैलिन सक्छ, जसको मारमा अन्ततः आम नागरिक नै पर्ने छन्।