काठमाण्डौ । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुक्खाको सामना गरिरहेको मधेशमा तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति कमलादेवी पन्तले तत्काल मधेशको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास आउनुका साथै नागरिकले खानेपानी अभाव झेल्नुपर्ने भन्दै समस्या समाधान गर्न आवश्यक बजेटको व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ ।
यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा बढ्दो पानी सङ्कट समाधान गर्न दीर्घकालीन रूपमा पानी पुनःभरण योजना अत्यावश्यक भएको बताउनुभएको छ ।
हिजो सिरहाको लहानमा भएको कार्यक्रममा उहाँले पानीको सतह घट्दै जाँदा डिपबोरिङ जडान गर्नुमात्र समाधान नभएको स्पष्ट पार्नुभयो । जहाँ ठूलो डिपबोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिने उहाँको भनाइ छ ।
पानी जमिनसम्म पुग्न नपाउँदा भूमिगत स्रोतहरू रित्तिँदै गएका मुख्यमन्त्री सिंहको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि पानी पुनःभरणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वीरगञ्ज महानगरपालिकाका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् ।
वीरगञ्ज आसपासमा खानेपानीको चर्काे समस्या भएसँगै समितिका अध्यक्ष डा.किरण पौडेल र वीरगञ्ज महानगरकाका मेयर राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेको हो ।
समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगञ्ज आसपासको पानीको भूसतह बढाउन सकिने बताउनुभयो ।