बारा । उद्योगबाट निस्केको प्रदूषित पानी जमेको कुलोमा डुबेर बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ का १३ वर्षीय बालकको मृत्यु भएको घटनापछि स्थानीयले शनिबार शव तेस्र्याएर प्रदर्शन गरेका छन्।
उद्योगको लापरवाहीले बालक सन्दीप मुखियाको ज्यान गएको भन्दै मृतकका आमा अञ्जुसहित स्थानीयले जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति र नन्दन घ्यू उद्योग अगाडि शव तेस्र्याएर प्रदर्शन गरेका हुन्। बालकको शुक्रबार जितपुरसिमरा–५ स्थित सिर्सिया कुलो (बर्खि बाँध)मा डुबेर मृत्यु भएको थियो।
गणपति घ्यू, नन्दन घ्यू, अशोक स्टिल लगायतका उद्योगबाट निस्कने प्रदूषित र रसायनयुक्त पानी उक्त कुलो हुँदै बग्ने गरेको छ। प्रशोधन नगरी छोडिएको प्रदूषित पानीका कारण उक्त क्षेत्र अत्यन्तै दुर्गन्धित समेत हुनेको गरेको छ। उक्त दुर्गन्धित र प्रदूषित पानीमा बालकको शव भेटिएपछि शल्य परीक्षणका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो। शल्यपरीक्षणका क्रममा बालकको मृत्यु विषाक्त पानीकै कारण भएको देखिएको छ।
घटनाबाट आक्रोशित परिवारले शनिबार उद्योग अगाडि शवसहित प्रदर्शन गरिरहेका छन्। उद्योगको लापरवाहीले बालकको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिसहित उद्योगलाई कारबाही गर्न माग गरेका छन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घटनाबाट आक्रोशित परिवार र स्थानीयले उद्योग अगाडि प्रदर्शन गरिरहेको बताए। डीएसपी जोशीले पीडित पक्ष, जनप्रतिनिधि र उद्योग प्रशासनबीच छलफल भइरहेको जानकारी दिए।
‘घटना निकै दुःखद छ। बालकको शव तेस्र्याएर पीडित पक्ष उद्योग अगाडि बसिरहनुभएको छ’ डीएसपी जोशीले भने ‘हामीले सबै पक्षलाई एकै ठाउँमा राखेर छलफलको वातावरण बनाएका छौं। अहिले छलफल चलिरहेको छ।’ यता घटनापछि जितपुरसिमरा उपमहानगरपालिकाले शनिबार उद्योगले प्रदूषित पानी छाड्ने गरेको स्थानमा डोजर लगाएको छ।सार्वजनिक जग्गामा पानी छोड्न प्रयोग गरिएको ह्युमपाइप हटाउँदै उपमहानगरपालिकाले खाल्डो पुरेको हो। उपमहानगरपालिकाले यसअघि पनि उद्योगको पर्खाल भत्काएर ह्युमपाइप हटाएको थियो। तर उद्योगले पुनः ह्युमपाइपको प्रयोग गर्दै उद्योगको प्रदूषित पानी प्रशोधन नगरी छाड्ने गरेको थियो।
स्थानीय सरकार र स्थानीय प्रशासनलाई अटेर गर्दै आएको उद्योगका कारण स्थानीय समेत आजित छन्। उद्योगको कारण बस्तीका नागरिक प्रभावित हुनुका साथै प्रदूषित पानीका कारण वातावरणमा समेत असर परिरहेको छ। सम्भार : अन्नपूर्णपोष्ट