पर्सा । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालले आज दिनभरि आफ्ना निर्वाचन क्षेत्रका विभिन्न विकास तथा पूर्वाधार योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ।
स्थलगत अनुगमनका क्रममा मन्त्री जयसवालले विद्यालय, स्वास्थ्य संस्था, खेलमैदान, वृद्धाश्रम, विवाह भवन, धर्मशाला, सडक, नाला तथा अन्य सार्वजनिक सेवा र पूर्वाधार योजनाहरूको निरीक्षण गर्नुभयो। निरीक्षणक्रममा उहाँले स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै योजनाहरूको हालको कार्यान्वयन अवस्था, देखिएका समस्या र जनअपेक्षाका विषयमा विस्तृत जानकारी लिनुभयो।
मन्त्री जयसवालले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, “हामी जनताको विश्वास जित्ने र प्रत्यक्ष लाभ पुर्याउने योजनाहरूमा प्राथमिकता दिन प्रतिबद्ध छौं। योजनाको हरेक चरणमा पारदर्शिता र परिणाममुखी कार्यान्वयन सुनिश्चित गरिनेछ।”
उहाँले थप भन्नुभयो, “स्थानीय जनताको सक्रिय सहभागिता बिना समावेशी विकास सम्भव हुँदैन। जनतासँग सल्लाह, सहभागिता र सहकार्य नै समृद्ध प्रदेश निर्माणको आधार हो।”
स्थानीयबासीहरूले मन्त्रीसमक्ष विद्यालयको स्तरोन्नति, स्वास्थ्य सेवाको अभाव, जलनिकासी समस्या, खेलकुद संरचनाको कमी लगायतका गुनासो, सुझाव तथा आवश्यकताहरू राखेका थिए। मन्त्री जयसवालले ती गुनासोहरूप्रति गम्भीर चासो व्यक्त गर्दै मन्त्रालयस्तरीय छलफलमार्फत समाधानको पहल गरिने आश्वासन दिनुभयो।
यस स्थलगत अनुगमनलाई स्थानीयवासी तथा सरोकारवालाहरूले प्रदेश सरकारद्वारा जनतासँगको सिधा संवाद र समस्या समाधानप्रतिको सकारात्मक तथा जवाफदेही पहलको रूपमा लिएका छन्।
प्रदेशस्तरीय विकास योजनाको प्रभावकारी कार्यान्वयन र जनगुनासोको समाधानमा तीव्रता ल्याउने मन्त्री जयसवालको यो सक्रियता जनअपेक्षा अनुसारको सकारात्मक नेतृत्वका रूपमा हेरिएको छ।