काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहतको नाममा भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राहत प्याकेज, योजना र बजेटबिनै गरिएको घोषणाले सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।
सांसद साहले भने, 'सरकारले राहत प्याकेज बिना मधेसलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। न योजना छ, न बजेट छ।' उनले यो घोषणा केवल जनतालाई आश्वासन दिने र सरकारी निकायलाई छल्ने माध्यम बनेको बताए।
प्रधानमन्त्रीले सार्वजनिक रूपमा घोषणा गरेको ५०० डिप बोरिङको योजनाबारे सम्बन्धित सरकारी निकायहरू नै बेखबर रहेको भन्दै साहले आपत्ति जनाए। 'प्रधानमन्त्रीजीले सार्वजनिक गरेको ५०० डिप ट्युबवेलको बारेमा न सरकारी निकायलाई थाहा छ, न सिँचाइ विभागलाई थाहा छ, न खानेपानी निकायलाई थाहा छ,' उनले प्रश्न गरे, 'यसरी हावादारी आश्वासनले पीडितलाई राहत दिन्छ कि पीडितलाई दुःखित बनाउँछ?
संकटग्रस्त क्षेत्र घोषणा भएपछि सार्वजनिक खरिद ऐन प्रभावित हुने र आकस्मिक दफा प्रयोग गरी बिना प्रतिस्पर्धा काम गराउन सकिने व्यवस्थाप्रति संकेत गर्दै साहले सरकारको नियतमाथि शंका व्यक्त गरे।
उनले संकटको बेला पारदर्शिता र सुशासन आवश्यक पर्नेमा झन् अपारदर्शी र मनमानी ढंगले काम भइरहेको र विनियोजित बजेट दुरुपयोग हुने संकेत देखिएको बताए।
साहले पीडितलाई उपचार चाहिने बेलामा उपचारको योजनाबिना रोगको घोषणा मात्र गर्नु निरर्थक भएको टिप्पणी गरे।