काठमाडौं । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका अध्यक्ष तथा युवा नेता भुपेन्द्र साहले जनमत पार्टीमा प्रवेश गरेका छन्। काठमाडौँको मध्य बानेश्वरस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित एक विशेष समारोहमा उनले औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
भुपेन्द्र साहसँगै पूर्व राजपा जिल्ला अध्यक्ष तथा मधेस आन्दोलनका अगुवा नेता जगदीश पटेल र पर्साका युवा व्यवसायी जटा शंकर पटेलले पनि विधिपूर्वक जनमत पार्टीको सदस्यता ग्रहण गरेका छन्।
नवप्रवेशी नेताहरूलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले खादा र टीका लगाएर स्वागत गरेका थिए।
उक्त कार्यक्रममा पार्टीका राष्ट्रिय प्रवक्ता डा. सरद यादव, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, तथा पर्साका वरिष्ठ नेता गौरीशंकर पटेललगायतको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओमप्रकाश सरार्फले नयाँ नेताहरूको आगमनले पर्सा जिल्लामा जनमत पार्टी अझ सशक्त र जनआकर्षक बन्ने विश्वास व्यक्त गरे।