पर्सा । सर्वसाधारणदेखि सुरक्षाकर्मीहरूसम्मलाई अवैध नेटवर्किङ व्यवसायको नाममा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) श्यामसुन्दर साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पर्सा जिल्ला अदालतले साउन १५ गते साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय, पर्सामा देवप्रकाश चौरासियासहित दर्जनौं पीडितले जाहेरी दिएपछि अदालतले पक्राउ आदेश जारी गरेको प्रहरीले जनाएको छ।
तर, पक्राउ पुर्जी जारी भएको पाँच दिन बितिसक्दा पनि साह पक्राउ पर्न सकेका छैनन्। पीडितहरूले पूर्वअसई साहलाई केही घुमुवा प्रहरी र उच्च प्रहरी अधिकृतहरूले संरक्षण दिएको आरोप लगाएका छन्।
साहले प्रहरी सेवामा कार्यरत रहँदै ठगी धन्दा सञ्चालन गर्दै आएका थिए। अहिले उनी सम्पर्कविहीन छन्। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र धनुषाका केही घुमुवा प्रहरीले साहलाई संरक्षण गरिरहेको प्रहरी स्रोतको दाबी छ।
यसैबीच, मधेश प्रदेशका डीआईजी उमाशंकर चतुर्वेदीले पूर्वअसई साहलाई पक्राउ गर्न मातहत निकायलाई निर्देशन दिएको बताएका छन्। तर, त्यो निर्देशन कार्यान्वयनमा आउन नसकेको देखिएको छ।
साहले नेटवर्किङको नाममा उठाएको रकम आफ्नै खातामा नहाली आफन्त र साथीहरूको नाममा जम्मा गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ। उनले कुँवर र तामाङ थरकी महिलाहरूको नाममा करोडौँ रुपैयाँ जम्मा गराएको समेत पत्ता लागेको छ।
पीडित देवप्रकाश चौरासियाका अनुसार साहले “डीआईजी र एआईजीका श्रीमतीहरू रहेको कम्पनी हो” भन्ने भ्रम सिर्जना गरी आफूबाट साढे ७ लाख रुपैयाँ ठगेका थिए। पैसा फिर्ता माग्दा धम्की दिने र झूठो प्रलोभन दिने क्रम चलेपछि उनी प्रहरीको शरणमा पुगेका हुन्।
प्रहरीमै कार्यरत अजय पटेल, नरेन्द्र चौरासिया, सुरेश यादव, प्रमोद सिंह, राजेश यादव लगायत चार दर्जनभन्दा बढी प्रहरीहरू साहबाट ठगिएको खुलेको छ।
प्रहरी स्रोतका अनुसार साहले राजमंगल सिंहबाट करिब ६० लाख, सुरेश यादवबाट ३० लाख र निरन सिंहबाट ५ लाख रुपैयाँ लिएको विवरण सार्वजनिक भएको छ। साहका धम्कीका कारण कतिपय पीडितहरूले उजुरी गर्नसमेत नसकेको अवस्था छ।
पूर्वअसई साहले ठगीबाट संकलन गरेको रकमबाट वीरगञ्ज–१४, राधेमाईमा करोडौँ रुपैयाँको बंगला निर्माण गरेका छन्। उनले महँगा गाडी खरिद गर्नुका साथै प्रहरीको नाममा सरुवा, बढुवा गराउने काममा समेत संलग्न रहेको आरोप छ।
धिरजप्रताप सिंह मधेश प्रदेशको डीआईजी हुँदा र आईजीपी बनेपछि पनि साहले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने व्यापारी तथा आपराधिक समूहलाई संरक्षण दिँदै लाभ लिँदै आएको बताइएको छ।
यज्ञविनोद पोखरेल मधेश प्रदेश प्रहरी प्रमुख हुँदा साहले अवैध तस्करीको लाइन दिएर रकम असुलेको प्रमाण भेटिएको थियो। त्यसपछि पोखरेललाई तत्कालीन आईजीपी बसन्त कुँवरको निर्देशनमा ताप्लेजुङ सरुवा गरिएपछि साहले प्रहरी सेवाबाट राजीनामा दिएका थिए।
प्रहरी संगठनबाट बाहिरिएपछि पनि उनले मधेश प्रदेशका डीआईजी उमाशंकर चतुर्वेदीको नाम लिँदै व्यापारी र हुन्डी कारोबारीहरूलाई धम्क्याउँदै रकम असुली गर्दै आएको समाचार बाहिर आएपछि उनले ‘अनलाइन नेपाल डटकम’लाई धम्कीसहितको अडियो समेत पठाएका छन्। अनलाइन नेपालले आफूले सबै प्रमाण सुरक्षित राखेको दाबी गरेको छ।
यसबीच, पूर्वअसई साहसँग बारम्बार सम्पर्क प्रयास गर्दा समेत उनी सम्पर्कमा आउन चाहेका छैनन्। न उनले फोन उठाएका छन्, न नै कुनै प्रकारको प्रतिक्रिया दिएका छन्।