वीरगञ्ज । तीन महिनाअघि अपहरण गरी तीन दिनसम्म पालैपालो बलात्कार गरिएको घटनामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित नेक मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक मोहम्मद र सोही वर्कशपमा कार्यरत २१ वर्षीय अफताब अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, घटना २०८२ साल वैशाख २० गते दिउँसो करिब ३ बजे भएको हो।
पीडित महिला बाख्रा बाँधेर घर फर्कँदै गर्दा बाटोमै दुई व्यक्तिले उनलाई आक्रमण गरी अपहरण गरेका थिए। अभियुक्तहरूले उनको मुख कपडाले बाँधेर आँखामा कालो पट्टी लगाई बसपार्कस्थित गणेश होटल एण्ड लजको दोस्रो तलाको कोठामा पुर्याएका थिए।
तीन दिनसम्म कोठामा थुनिएर पीडितले दुबै जनाबाट पालैपालो बलात्कार सहनु परेको अनुसन्धानबाट खुलेको छ। वैशाख २३ गते बिहान करिब ८ बजे पीडितलाई घडिअर्वा पोखरी नजिकैको गल्लीमा गम्भीर अवस्थामा रगताम्य बनाई फालेर अभियुक्तहरू फरार भएका थिए।
पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा साउन २० गते वीरगञ्ज–१५, प्रतिमा चोकबाट नेक मोहम्मद र अफताब अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि अपहरण, शरीर बन्धक बनाएको र जबरजस्ती करणी गरेको कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।प्रहरीका अनुसार अनुसन्धानलाई थप सघन बनाउँदै पीडितको न्याय सुनिश्चित गरिनेछ।