वीरगञ्ज । पर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालय र नारायणी यातायात कार्यालयमा व्यापक आर्थिक अनियमितता, पदको दुरुपयोग र गैरकानुनी रकम संकलनको आरोप लागेका छन्। सम्बन्धित नियमनकारी निकायहरूको मौनता यसमा थप गम्भीर चिन्ताको विषय बनेको छ।
प्रहरी निरीक्षक लोकराज भट्टको नेतृत्वमा अस्थायी ट्राफिक पोष्टहरूमा खटाइएका प्रहरीहरूमार्फत मासिक दररेटअनुसार रकम संकलन भइरहेको स्रोतहरूले जनाएका छन्। ती पोष्टमा खटिएका ट्राफिक प्रहरीहरूलाई प्रत्येक दिन वा महिनाको हिसाबले निश्चित रकम उठाएर निरीक्षक भट्टलाई बुझाउन बाध्य बनाइएको आरोप लागेको छ।
स्रोतका अनुसार, निरीक्षक भट्टले आफ्नै गाउँका करिब १० जना प्रहरीहरूलाई ‘मालदार’ भनिने लाभदायक पोष्टहरूमा खटाएका छन्। जसले भुक्तानी गर्न अस्वीकार गर्छ, उनीहरूलाई कम महत्त्वका पोष्टमा सरुवा गरिने वा कार्यालयभित्रै राखिने गरिएको छ।
पोष्टहरूको तोकसामो वरिष्ठ सई गुणनिधि खकुरेलको सल्लाहमा हुने गरेको उल्लेख छ, जसका कारण प्रहरी संगठनभित्र 'काखा–पाखा'को व्यवहार देखिएको छ।
*दररेट अनुसार हुने मासिक असुली:*
ड्राइपोर्ट: प्र.सा.नि. रामशाह प्रसाद यादव – दैनिक रु. ११,०००
पावरहाउस चौक: प्र.स.ह. ध्रुव प्रसाद यादव – मासिक रु. ५०,०००
परवानीपुर चौक: प्र.ना.नि. गोविन्द थापा – दैनिक रु. ५,०००
बसपार्क: प्र.सा.नि. राजकुमार आग्लो – मासिक रु. ५०,०००
बहुअर्वा भाठा: प्र.स.ह. अजयकुमार यादव – मासिक रु. ३५,०००
यातायात कार्यालय: प्र.ह. राजकुमार गोले – मासिक निश्चित रकम बुझाउने
व्यवसायिक सङ्गठनहरू (बस, ट्रक, टेम्पो, ईभी, टाटासुमो) सँग समेत मासिक रकम असुली गरी प्रहरीबीच बाँडफाँट हुने गरेको स्रोतको दाबी छ। रकम उठाउने जिम्मेवारी पनि सई खकुरेललाई दिइएको छ।
*यातायात कार्यालयमा व्यापक भ्रष्टाचार: प्रहरी गोलेको एकछत्र दबदबा*
वीरगञ्जस्थित यातायात कार्यालयमा कार्यरत ट्राफिक प्रहरी राजकुमार गोलेमाथि गम्भीर आर्थिक शोषण, अनियमितता र भ्रष्टाचारको आरोप लागेको छ।
बारा दरबन्दीमा रहेर पर्सामा लामो समयदेखि कार्यरत गोलेले प्रहरी उपरीक्षक राजकुमार सिलवालको संरक्षणमा रहँदै ट्रायल सेन्टरमा सेवाग्राहीहरूमाथि योजनाबद्ध आर्थिक शोषण गरिरहेको स्रोतको आरोप छ।
सूचना अनुसार, ड्राइभिङ ट्रायल दिन आउने सेवाग्राहीहरूलाई सानो गल्ती देखाएर जानाजान फेल गराउने, पछि 'सेटिङ' मिलाएर पैसा लिएर पास गराउने कार्य उनीहरूको नियमित आयश्रोत बनेको छ।
गोलेको प्रभाव र त्रासका कारण नारायणी यातायात कार्यालयभित्र कुनै पनि सिफारिस वा ट्रायल प्रक्रिया सिधा, पारदर्शी रूपमा नचलेको सेवाग्राहीहरू बताउँछन्। सिफारिस बिना वा पैसा नबुझाई कुनै कार्य अघि बढ्न नसक्ने अवस्था बनाइएको छ।
*मधेस प्रदेश ट्राफिक कार्यालयबाट पनि 'कमिसन खेल'*
मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयामा कार्यरत प्रहरी उपरीक्षक राजकुमार सिलवालले आफ्ना विश्वासपात्र सहायक ट्राफिक प्रहरी हवल्दार नवराजलाई घुमुवा राखी ओभरलोड ट्रकहरूबाट महिनावारी रकम उठाउने काममा लगाएको स्रोतको आरोप छ।
यसरी बारा दरबन्दीमा रहेका ट्राफिक प्रहरीहरूलाई पर्सा जिल्लामा कार्यरत राखी प्रहरी उपरीक्षक सिलवाल र पर्सा ट्राफिक प्रमुखसँगको मिलेमतोमा अवैध रकम संकलन गराइँदै आएको दाबी गरिएको छ।
*नागरिकको माग: उच्चस्तरीय छानबिन र कारबाही*
स्थानीय नागरिक, मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले निरीक्षक लोकराज भट्ट, प्र.ह. राजकुमार गोले, सई गुणनिधि खकुरेल र प्रहरी उपरीक्षक राजकुमार सिलवालको नाममा तत्काल उच्चस्तरीय छानबिन गर्दै कडा कारबाही गर्न सरकार र प्रहरी संगठनसँग माग गरेका छन्।
उनीहरूको भनाइ छ — "यदि यस्ता भ्रष्ट कर्मचारीहरूलाई संरक्षण दिइनै रह्यो भने, आम नागरिकको सुरक्षाप्रति विश्वास समाप्त हुनेछ।"
*राज्य संयन्त्रको परीक्षण*
ट्राफिक प्रहरी सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र हो। तर, यही क्षेत्रमा कार्यरत प्रहरीहरूबाटै सेवा प्रवाहमा बाधा पुर्याइनु, आर्थिक शोषण हुनु र कानुनको धज्जी उडाइनु राज्य संयन्त्रकै गम्भीर असफलता हो।
यस भ्रष्ट संरचनाको तत्काल अन्त्यका लागि केन्द्रीय तहबाट हस्तक्षेप, कठोर छानबिन र दोषीमाथि कानुनी कारबाही अपरिहार्य देखिएको छ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भट्टले यो सबै कुरा निराधार भएको बताए साथै यस्तो कुनै गतिविधि नभएको जिकिर गरे ।